खरसाङ 26 जुलाई (हि.स.)। खरसाङ खण्ड अन्तर्गत महानदी ग्राम पञ्चायतको नयाँ भवनको आज विधिवत रूपमा उद्घाटन गरिएको छ। उक्त पञ्चायत भवनको उद्घाटन खरसाङ खण्ड पञ्चायत समितिको सहकारी सभापति नारायण थापा र महानदी वरिष्ठ नागरिक एवं पूर्व शिक्षक शेखरचन्द्र प्रधानको बाहुलीबाट गरियो।
उक्त पञ्चायत भवनको उद्घाटन समारोहलाई सञ्चालन गर्दै पञ्चायत सचिव पेन्छेन लमु तामाङले महानदी ग्राम पञ्चायत अन्तर्गत विभिन्न संसदहरुमा भइरहेको विभिन्न विकासमूलकहरु कार्यहरु विषयमा प्रोजेक्टरमा नक्शाहरुसहित विस्तृत रुपमा जानकारी गराइन्। उनले यो भवन लगभग 20 लाख रुपियाँको खर्चमा निर्माण गरिएको बताइन्।
यस उद्घाटन कार्यक्रममा प्रमुख अतिथिको रुपमा उपस्थित खरसाङ खण्ड पञ्चायत समितिको सहकारी सभापति नारायण थापाले आफ्नो सम्बोधनमा महानदी ग्राम पञ्चायतले जीटीए क्षेत्रमा नै प्रथम स्थान ओगटेकोमा बधाई दिॅंदै यसलाई महानदी ग्राम पञ्चायतको टिम वर्क जित बताए। उनले खरसाङ खण्डमा रहेका 14 वटा ग्राम पञ्चायतहरुमा महानदी ग्राम पञ्चायतका पञ्चायत प्रधान अनुशासित र अनुभवी व्यक्ति रहेको साथै समय विषयमा सचेत रहने व्यक्ति रहेको बताए।
कार्यक्रममा महानदी ग्राम पञ्चायतको पञ्चायत प्रधान पासाङ शेर्पाले मानिसले काम गर्दा अनुशासन र सठीक समय याद राख्नु आवश्यक छ भनी बताए। उनले समयलाई ध्यानमा राखेर काम गरे अवश्य सफल बन्न सकिन्छ भने।
कार्यक्रममा विशिष्ठ अतिथिको रुपमा उपस्थित शेखरचन्द्र प्रधान र खरसाङ इञ्जिनियरिङ विभागका सहायक अभियन्ता दिपेन्द्र प्रधानले पनि वक्तव्य राखेका थिए। यसै कार्यक्रममा महानदी ग्राम पञ्चायत अन्तर्गत पर्ने आँगनवाडी केन्द्रहरुलाई टेबलहरु प्रदान गरियो।
महानदी ग्राम पञ्चायतको पञ्चायत भवन उद्घाटन विषयमा पत्रकारहरुसित कुराकानी गर्दै महानदी ग्राम पञ्चायतको पञ्चायत प्रधान पासाङ शेर्पाले महानदी ग्राम पञ्चायत भवन 20 लाख रुपियाँको खर्चमा 70 प्रतिशत निर्माण गरिएको र बिजुली बत्तीको पनि जडान गरिएको जानकारी गराएका छन्।
उल्लेखनीय छ 2024 मा महानदी ग्राम पञ्चायत जीटीए क्षेत्रमा नै प्रथम पुरस्कार प्राप्त गर्न सफल बनेको थियो।
हिन्दुस्थान समाचार / हनोक