गान्तोक, 26 जुलाई (हि.स.)। मुख्यमन्त्री प्रेमसिंह तामाङ आज अप्पर तादोङ निर्वाचन क्षेत्रमा ग्रीन सिक्किम क्याम्पेन अन्तर्गत आयोजित एक महिनाव्यापी कनेक्ट टु अर्थ एवं श्रमदान कार्यक्रमको समापनमा सहभागी बने। यस अवसरमा क्याबिनेट मन्त्रीहरू, विधायकगण, सल्लाहकारगण, अध्यक्षगण, सरकारी अधिकारीहरू तथा अन्यहरू पनि उपस्थित थिए।
मन्त्री तथा क्षेत्र विधायक जीटी ढुङ्गेलको अगुवाईमा सम्पन्न यस अभियानमा व्यापक जन सहभागिता देखिएको थियो। यस अभियान अन्तर्गत राष्ट्रिय राजमार्ग छेउछाउ फूल फुल्ने बोटका बिरुवाहरू लगाइएको छ। यस पहलको उद्देश्य पर्यावरणीय जागरूकता बढाउनु र प्राकृतिक परिवेशको संरक्षण र वृद्धि गर्न समुदायको संलग्नतालाई प्रवर्द्धन गर्नु रहेको बताइएको छ।
कार्यक्रम अन्तर्गत मुख्यमन्त्री तामाङले पॉंच माइल, तादोङस्थित सरस्वती मन्दिरमा पूजा-प्रार्थना गरे। उनले मन्दिर परिसरमा पर्यावरण संरक्षण र आध्यात्मिक सद्भावप्रति प्रतिबद्धताको प्रतीक स्वरुप पारिजातको विरुवा रोपे।
समापन कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा मुख्यमन्त्रीले अभियानको सराहना गर्दै यस कार्यक्रमले सफा, हरियालीयुक्त सिक्किम निर्माण गर्ने जनताको समर्पणलाई उजागर गरेको उल्लेख गरे। उनले मेरो रुख मेरो सन्तति, शिशु समृद्धि योजना र मेरो बाटो मेरो बोट जस्ता प्रमुख कार्यक्रमहरू मार्फत पर्यावरणीय पहलहरूप्रति सरकारको प्रतिबद्धता व्यक्त गरे।
मुख्यमन्त्रीले यस अभियानमा सहभागी बनेका अप्पर तादोङका जनता, एनजीओ र स्वयंसेवकहरूलाई बधाई दिॅंदै अभियानको क्रममा देखिएको एकता र सक्रिय सहभागिताले पर्यावरणीय दिगोपनप्रति हाम्रो सामूहिक संकल्पको बललाई प्रतिबिम्बित गर्दछ भनी बताए। उनले अभियानको क्रममा रोपिएका बोटबिरुवा र फूलहरूको हेरचाह जारी राख्न र आफ्नो दैनिक जीवनमा पर्यावरणीय जिम्मेवारीको भावना कायम राख्न आग्रह गरे।
यस अघि क्षेत्र विधायक ढुङ्गेलले मुख्यमन्त्रीको दूरदर्शी नेतृत्वमा ग्रीन सिक्किम क्याम्पेनको लागि कनेक्ट टु अर्थ र श्रमदान शुरुवात गरिएको बताए, जसको मुख्य उद्देश्य सक्रिय जन सहभागिताद्वारा स्वच्छ, हरित र दिगो सिक्किम प्रवर्द्धन गर्नु हो। उनले यो अभियान एक पर्यावरण पहल मात्र नभएर एक सामूहिक आन्दोलन, जसले व्यक्ति, समुदाय र संस्थाहरूलाई आफ्नो वरपरको पर्यावरणको संरक्षण र सुन्दरता कायम राख्ने साझा अभियानमा एकताबद्ध गरेको बताए।
मन्त्री ढुङ्गेलले यस महिनाव्यापी प्रयास मार्फत अप्पर तादोङ निर्वाचन क्षेत्रलाई समुदाय-सञ्चालित पर्यावरणीय कार्यको आदर्शको रूपमा रूपान्तरण गरेर राज्यमा उदाहरण स्थापित गर्ने आकांक्षा राखेको अवगत गराए। उनले राष्ट्रिय राजमार्गमा फूल र रूखका बिरुवाहरू रोप्नेदेखि लिएर सफाई अभियान र जागरूकता कार्यक्रमहरू आयोजना गर्नेसम्म, यस अभियानले कसरी एकताबद्ध प्रयासहरूले अर्थपूर्ण परिवर्तन ल्याउन सक्छ भनेर प्रदर्शन गरेको बताए।
हिन्दुस्थान समाचार / बिशाल