एसडीएफ पार्टीको नाम्ची जिल्लास्तरीय संगठनात्मक सुदृढीकरण सभा सम्पन्न
एसडीएफ पार्टीको नाम्ची जिल्लास्तरीय संगठनात्मक सुदृढीकरण सभा सम्पन्न


गान्तोक, 26 जुलाई (हि.स.)। नाम्ची जिल्लाको तिमी नाम्फिङ निर्वाचन क्षेत्र अन्तर्गत टोकल बर्मेकमा एसडीएफ पार्टीको जिल्ला स्तरीय महत्वपूर्ण रणनीतिक सभा आज वरिष्ठ नेतृ डिकीलामु कजेनीको अध्यक्षतामा उनकै निवासमा सम्पन्न भयो। नवनियुक्त नाम्ची जिल्ला अध्यक्ष रमेश किरातको अगुवाइमा सम्पन्न भएको यस सभामा चेली मोर्चा प्रभारी कोमल चामलिङ लगायत नाम्ची जिल्लाका सम्पूर्ण नवनियुक्त पदाधिकारीहरूको उपस्थिति रहेको थियो।

सभामा नवनियुक्त वरिष्ठ उपाध्यक्ष एवम् नाम्ची जिल्ला प्रभारी सकुन गुरूङलाई हार्दिक स्वागत तथा सम्मान जनाइयो। सभामा एकअर्काबीच आत्मीयता र विश्वास निर्माण गर्ने उद्देश्यले सौहार्दपूर्ण परिचय आदानप्रदान कार्यक्रम पनि सम्पन्न गरिएको प्रेस विज्ञप्तिमा उल्लेख छ।

सभामा पार्टीको आगामी संगठनात्मक योजना, जिल्ला स्तरमा जनसम्पर्क विस्तार, युवासँगको सशक्त संवाद, चेली मोर्चाको सशक्तिकरण, तथा समसामयिक राजनीतिक परिस्थिति सन्दर्भमा भावी रणनीति निर्माणबारे गहन छलफल गरियो। सभामा संगठन सुदृढीकरणका लागि चारजना जिल्ला सह-समन्वयकहरूको चयन गरियो, जसले आगामी अभियानहरूलाई थप गतिशीलता प्रदान गर्ने अपेक्षा गरिएको छ।

जिल्ला अध्यक्ष रमेश किरातद्वारा सञ्चालित सभामा उपाध्यक्ष अरुण लिम्बूले स्वागत भाषण तथा नाम्ची जिल्ला युवा उपाध्यक्ष सुमन चामलिङले धन्यवाद ज्ञापन गरेको बताइएको छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande