डेढ़ महिना पुरानो एनआरसी नोटिसलाई तृणमूलले बनायो राजनीतिक मुद्दा, भन्यो- 'बंगालीहरूलाई डर देखाइरहेको छ'
डेढ़ महिना पुरानो एनआरसी नोटिसलाई तृणमूलले बनायो राजनीतिक मुद्दा, भन्यो- 'बंगालीहरूलाई डर देखाइरहेको छ'


कोलकाता, 26 जुलाई (हि.स.)। पश्चिम बंगालको कुचबिहार जिल्ला अधिनस्थ माथाभांगामा एकजना बुजुर्गलाई डेढ़ महिनापूर्व प्राप्त भएको एनआरसी नोटिसलाई लिएर सत्तारूढ़ तृणमूल कंग्रेस गम्भीर राजनीतिक मुद्दा बनाउन जुटेको छ। पार्टीले यसलाई बंगलाभाषीहरूलाई भयभित पार्ने षड़यन्त्रको संज्ञा दिँदै भाजपामाथि सोझै हमला गरेको छ।

मामिला 75 वर्षीय निशिकान्त दाससित जोड़िएको छ जसलाई लगभग डेढ़ महिनापूर्व एनआरसीको नोटिस प्राप्त भएको थियो। उनले बताए, नोटिस पाएपछि उनी दस्तावेज लिएर गुवाहाटी गए अनि कानुनी सल्लाह पनि लिए, तर उनलाई बताइयो, उनीसित रहेको वर्तमान जमीनको कागजपत्र अपर्याप्त छ। उनीबाट 1958 सालको जमीनको कागजपत्र लिएपछि अब उनको पिताको भोटर लिस्ट मागिएको छ।

निशिकान्त दासले भने, “मेरा पिताको मृत्यु 45 वर्षपूर्व भइसकेको छ। अब मैले उनको भोटर लिस्ट कहाँबाट ल्याउनु? हामी त वर्षौंदेखिको यहीँ बस्दै आइरहेका छौं। ममता ब्यनर्जीले अब जे गर्छन् म त्यसैमाथि भर परेको छु।” उनले यो पनि दाबी गरे, धेरै वर्ष अगाड़ि गुवाहाटी उनलाई ‘बंगलादेशी’ ठानेर हिरासतमा लिइएको थियो। तर दस्तावेज देखाेपछि छोड़िदियो।

यस सम्पूर्ण घटनाक्रमलाई अब तृणमूल कंग्रेसले राजनीतिक रंग पोत्ने काम गरेको छ। पार्टीको कुचबिहार जिल्लाध्यक्ष अभिजीत दे भौमिकले भने, “बंगालीहरूलाई सुनियोजित रूपमा डर देखाइरहेको छ ताकि उनीहरू भाजपा सामु झुकुन्। अन्य राज्यहरूमा पनि बंगला भाषीहरूलाई प्रताड़ित गरिँदैछ, उनीहरूलाई जेलमा थुनिँदैछ। एनआरसी नै भाजपाको पतनको कारण बन्नेछ।”

यद्यपि भाजपाको पक्षबाट यस मामिलामा कुनै प्रकारको आधिकारिक प्रतिक्रिया आएको छैन। राजनीतिक विश्लेषकहरूको मान्यता छ, एनआरसीको पुरानो नोटिसलाई सामु ल्याएर तृणमूलले आगामी चुनाउमा भाजपाको विरोधमा ‘बाहिरी बनाम बंगाली’ विमर्शलाई फेरि धार लगाउने चेष्टा गरिरहेको छ।

यस मुद्दाको माध्यमबाट तृणमूलले फेरि एकपटक एनआरसी र नागरिकताको प्रश्नलाई केन्द्रमा ल्याएर भाजपालाई घेर्ने प्रयास गरेको छ। मुख्यमन्त्री ममता ब्यनर्जी पनि लगातार बंगालीहरूको अधिकार र पहिचानको लड़ाईँमा सक्रिय रहँदै आएकी छन्। उनले पहिला नै ‘भाषा आन्दोलन’- को घोषणा गर्दै आगामी 28 जुलाईमा बोलपुरमा पदयात्रा गर्ने तयारी गरेकी छन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande