वाईटी लेप्चाले भने, मेरो निष्कासन अवैधानिक अनि पार्टीको नीति र प्रक्रिया विपरित
वाईटी लेप्चाले भने, मेरो निष्कासन अवैधानिक अनि पार्टीको नीति र प्रक्रिया विपरित


गान्तोक, 26 जुलाई (हि.स.)। भारतीय जनता पार्टी (भाजपा) का पूर्व विधायक वाईटी लेप्चाले आफूलाई पार्टीबाट बर्खास्त गरिएको सन्दर्भमा प्रकाशित समाचारप्रति गम्भीर आपत्ति जनाएका छन्। उनले भाजपा सिक्किमको उक्त निर्णयलाई अवैधानिक अनि पार्टीको नीति र प्रक्रिया विपरित बताएका छन्।

उल्लेखनीय छ, भाजपा ​सिक्किमले हिजो एउटा प्रेस विज्ञप्ति जारी गरेर पूर्व विधायक वाईटी लेप्चा अब भाजपाको सदस्य नरहेको स्पष्ट गरेको थियो।

वाईटी लेप्चाले आज जारी प्रेस विज्ञप्तिमा कुनै चेताउनी, स्पष्टीकरण वा कारण देखाउ पत्र जस्ता प्रक्रिया नअपनाई गैरजिम्मेवारीपूर्वक आफूलाई बर्खास्त गरिएको समाचार बाहिर ल्याएको उल्लेख गरेका छन्। उनले हाल पार्टीमा केही व्यक्तिहरू, जो विगतमा भाजपाप्रति अपमानजनक अभिव्यक्ति दिॅंदै आएका थिए, आज पार्टी कब्जा गरेर आफ्नो स्वार्थपूर्तिमा लागेको गम्भीर आरोप पनि लगाएका छन्।

उनले 2019 पछि केही नेताहरू पार्टीभित्र रहे पनि उनीहरूको गतिविधि भाजपाको नीति अनुरूप नभई अर्कै शक्तिको निर्देशनमा सञ्चालन भएको देखिन्छ भनी बताएका छन्। पार्टीको केन्द्रिय नेतृत्वद्वारा मान्यताप्राप्त गठबन्धन एसकेएम पार्टीसँग रहँदा पनि केही व्यक्तिहरूले विपरीत धार बहन गर्दै एसडीएफ पार्टीसँग मिलेर वैकल्पिक सत्ता निर्माणको प्रयास गरेको उनले आरोप लगाएका छन्।

लेप्चाले भाजपाको केन्द्रिय नेतृत्वसँग पार्टीभित्र बसेर प्रतिगामी गठबन्धनका पक्षमा कार्य गर्ने व्यक्तिहरूको गम्भीर समीक्षा गर्न र आवश्यक अनुशासनात्मक कारबाही अगाडि बढाउन आग्रह गरेका छन्।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande