मुम्बई, 28 जुलाई (हि.स.)। महाराष्ट्रका पाँचजना मन्त्रीहरूलाई उनीहरूको पदबाट अपदस्थ गर्नको लागि सोमवार शिवसेना यूबीटीको प्रतिनिधिमण्डलले राज्यपाल सी.पी. राधाकृष्णनसित भेट गऱ्यो। प्रतिनिधिमण्डलमा विधानपरिषदका नेता प्रतिपक्ष अम्बादास दानवे, पूर्व मन्त्री अनिलपरब, शिवसेना यूबीटीकी नेता सुषमा अंधारे सहित अन्य सामेल थिए।
राज्यपालसित भेट गरेपछि सुषमा अंधारेले पत्रकारहरूलाई बताइन्, उनीहरूले महाराष्ट्रका पाँच जना मन्त्रीहरू क्रमैले योगेश कदम, गिरीश महाजन, सञ्जय शिरसाट, माणिकराव कोकाटे र नितेश राणेलाई मन्त्री पदबाट हटाउने माग राज्यपालसित गरेका छन्। यी सबै मन्त्रीहरूलाई पदबाट हटाउनको लागि यिनीहरूविरूद्ध पर्याप्त प्रमाण छ जसलाई उनीहरूले राज्यपाललाई सुम्पिएका छन्। उनले भने, यी सबै मन्त्रीहरूले पछिल्लो केही दिनदेखिको गैर-जिम्मेवारीपूर्ण व्यवहार गरिरहेका छन्। यसबाट विधायिकाको पवित्रतालाई ठेस पुगिरहेको छ।
उनले भनिन्, हनी ट्र्यापसित जोड़िएका मानिसहरूको जाँच हुनुपर्छ। जसरी आरोप-प्रत्यारोपको सिलसिला शुरू भएको छ त्यसमा प्रफुल लोढ़ालाई पक्राउ गरिएको छ। तथापि तिनीबाट अन्य महत्वपूर्ण जानकारीहरू पाउन बाँकी नै छ। उनको ज्यानलाई पनि खतरा हुनसक्छ। त्यसैले उनको सुरक्षामाथि पनि विचार गरिनुपर्छ। यस मामिलामा मन्त्री गिरीश महाजनलाई क्याबिनेटबाट हटाउन आवश्यक छ तबमात्र मामिलाको गहन जाँच सम्भव हुनेछ. यसरी नै राज्यका गृह मन्त्री योगेश कदमकी आमाको नाममा डान्स बार खोलिएको छ। जुन व्यक्तिको नाममा डान्स बार छ, जसमा अहिलेसम्ममा तीन पटक छापा मारिसकिएको छ, त्यस्तो व्यक्ति गृह राज्य मन्त्रीको पदमा कसरी बस्नसक्छ? यसैले यस्ता व्यक्तिलाई मन्त्री पदमा बस्ने कुनै अधिकार नै छैन।
अंधारेले भनिन्, मन्त्री माणिकराल कोकाटे जस्ता मानिसहरूले जसरी विवादित बयान दिए साथै विधानमण्डलमा जसरी रमी खेले, त्यो अत्यन्त निन्दनीय छ। यसरी नै करोड़ौं रुपियाँको भीडियो बनाउने तथा लगातार अर्थहीन बयान दिने मन्त्री सञ्जय शिरसाटले पद छोड़्नुपर्छ। मन्त्री नितेश राणेले सदैव समाजलाई विभाजन गर्ने बयान दिँदै आएका छन्। यसबाट समाजको भावनामा ठेस पुगेको छ। त्यसैले नितेश राणेलाई पनि मन्त्री पदबाट तत्काल मुक्त गर्नुपर्छ। अंधारे अनुसार राज्यपालले हामीलाई भने, मलाई पनि यी सबै कुराहरूको जानकारी छ। महाराष्ट्रको गरिमालाई कायम राख्न राज्यपालको रूपमा मेरो कर्तव्य पनि बन्छ। राज्यपालले यस सम्बन्धमा मुख्यमन्त्रीसित चर्चा गर्ने आश्वासन प्रतिनिधि मण्डललाई दिए।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा