राष्ट्रिय राजमार्ग 10 मा विभिन्न ठाउॅं पैह्रो, परिवहन प्रभावित
यो चित्र टिस्टा बजार (पश्चिम बंगाल) छेउ टिस्टा पुलमुनिको हो। टिस्टा नदीको पानीले बाटो ढाकेपछि दार्जिलिङ जाने मार्ग अवरुद्ध भएको छ।


गान्तोक, 29 जुलाई (हि.स.)। निरन्तर रूपमा परिरहेको पानीले सिक्किमको जीवन रेखा मानिने राष्ट्रिय राजमार्ग 10 मा वाहनहरूको आवागमन फेरि बाधित बनेको छ। भारी वर्षाका कारण राष्ट्रिय राजमार्ग 10 पैह्रो झरेकाले सिक्किमदेखि सिलगढी र दार्जिलिङ जाने मार्ग ठप्प बनेको छ।

सिक्किममा सोमवार-मंगलवार रातभरि भारी वर्षा भयो भने पानी पर्ने क्रम आज (मंगलवार) पनि जारी छ। भारी वर्षाले राष्ट्रिय राजमार्ग 10 अन्तर्गत विभिन्न ठाउॅंमा पैह्रो झरेको छ, जस कारण वाहनहरूको आवागहन प्रभावित बनेको छ। यसैगरी, राज्यका कतिपय जिल्लाहरूमा पनि भारी वर्षाले पैह्रो गएको जानकारी प्राप्त भएको छ।

अविरल वर्षाले राष्ट्रिय राजमार्ग 10 अन्तर्गत सिक्किम र पश्चिम बंगालमा विभिन्न ठाउॅंमा पैह्रो झरेको छ। सिक्किमलाई देशको अन्य भागहरूसॅंग जोड्ने एकमात्र राष्ट्रिय राजमार्ग अवरुद्ध बनेपछि परिवहन व्यापक रूपमा प्रभावित बनेको छ। जानकारी अनुसार, राष्ट्रिय राजमार्ग 10 अन्तर्गत बरदाङ र तारखोलामा पैह्रो झरेको छ।

अर्कोतिर, अबिरल वर्षाले टिस्ट नदीको जलस्तर अत्यधिक बढेपछि टिस्टा बजार भएर दार्जिलिङ जाने बाटो बन्द भएको छ। विशेषरूपमा, टिस्टा पुलमुनि दार्जिलिङतिर जाने बाटोमा नदीको पानी आएपछि यातायात अवरुद्ध बनेको छ। यहॉं स्थिति भयावह देखिएको छ भने छेउछाउका मानिसहरूमा भयको माहोल छाएको छ।

सिक्किमदेखि सिलगढी अथवा दार्जिलिङ जान चाहने मानिसहरूलाई प्रशासनले वैकल्पिक मार्ग भएर यात्रा गर्न सुझाउ दिएको छ। सम्बन्धित निकायहरू बाटो सफा गर्ने कार्यमा लागिपरेका छन्। यद्यपि, निरन्तर रूपमा परिरहेको पानीका कारण राहत कार्य प्रभावित बनिरहेको बताइएको छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande