गान्तोक, 29 जुलाई (हि.स.)। सिक्किम चेस एसोसिएशन (एससीए) ले 'इन्टर स्कूल चेस च्याम्पियनशिप 2025' आयोजन गर्ने भएको छ। च्याम्पियनशिपको आयोजना आगामी 7 देखि 9 अगस्तसम्म राजधानीको सर टाशी नामग्याल उच्चतर माध्यमिक विद्यालयमा गरिने छ। उक्त जानकारी एससीएका महासचिव महेन्द्र ढकालले आज राजधानीमा आयोजित एक पत्रकार सम्मेलनमा दिए।
महासचिव ढकालले आगामी 7 देखि 8 अगस्तसम्म इन्टर स्कूल चेस च्याम्पियनशिप आयोजना गरिने जानकारी गराउॅंदै गत वर्षको तुलनामा यस वर्ष अझ धेरै प्रतिभागीहरूले भाग लिने अपेक्षा गरिएको बताए। उनले यसपाली 50 भन्दा धेरै विद्यालयबाट लगभग 300 देखि 400 प्रतिभागीहरूले भाग लिने अपेक्षा रहेको बताए।
महासचिव ढकालले यसपाली च्याम्पियनशिप अन्तर्गत अण्डर-7 र अण्डर-9 का प्रतियोगीहरूलाई सॅंगै खेलाउने निर्णय गरिएको बताए। उनले उक्त वर्गका प्रतियोगीहरू साना हुन्छन् र उनीहरूले ठूला प्रतियोगीहरूसॅंग प्रतिस्पर्धा गर्नुपर्ने विषयलाई ध्यानमा राख्दै यस्तो निर्णय लिइएको अवगत गराए। उनले एकै उमेरका प्रतियोगीहरूबीच राम्रो प्रतिस्पर्धा हुने हुनाले उनीहरूलाई सॅंगै खेलाउने निर्णय गरिएको स्पष्ट पारे।
उनले च्याम्पियनशिपका विजेताहरूलाई नगद राशिसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिने जानकारी गराए। यस अतिरिक्त, यस च्याम्पियनशिपमा राम्रो प्रदर्शन गर्ने खेलाडीहरूले आगामी राष्ट्रिय स्तरका प्रतियोगिताहरूमा भाग लिने अवसर प्राप्त गर्ने बताए। उनले आगामी दिनहरूमा यस च्याम्पियनशिपलाई राज्यका अन्य जिल्लाहरूमा पनि लैजाने योजना रहेको बताए। महासचिव ढकालले इच्छुक खेलाडीहरूलाई आगामी 5 अगस्तभित्र पञ्जीकरण गर्न अनुरोध गरेका छन्।
हिन्दुस्थान समाचार / बिशाल