खरसाङ, 03 जुलाई (हि.स.)। दार्जिलिङ जिल्ला प्रशासन र खरसाङ डिभिजन फरेस्टको आयोजनामा वन संरक्षण र जल स्रोत संरक्षणको लागि बिहिवार खरसाङको चित्रेस्थित कालपोखरी सेलेमण्डर झील क्षेत्रमा वन महोत्सव पालन गरियो। यस अवसरमा गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको प्रमुख कार्यपाल अनित थापा र दार्जिलिङ जिल्ला शासक आईएएस डा. प्रीति गोयलको बाहुलीद्वारा झोडा जीर्णोद्धार प्रोजेक्ट बोर्डको अनावरण गरियो।
यस अवसरमा उक्त सेलामेण्डर झीलमा पूजा अर्चना गरेर वन संरक्षण र जल स्रोतको संरक्षणको लागि वृक्ष रोपण गरियो। यस अवसरमा जीटीए प्रमुख र जिल्ला शासकले यहाँ वृक्ष रोपणको कार्य गरे। यसका साथै खरसाङ महकुमा शासक आईएएस बिन्दबासिनी तेजा दिपक, डीएफओ आईएफएस देबेस पाण्डे, खरसाङ खण्ड पञ्चायत समितिकी सभापति अनु छेत्री, सभासदहरु श्याम शेर्पा र नुरी शेर्पा, खरसाङ खण्ड विकास अधिकारी कौशिक चक्रवर्ती, खरसाङ महकुमा पुलिस अधिकारी आईपीएस निरजा अनीश शाह, खरसाङ नगरपालिकाका चेयरम्यान ब्रिगेन गुरुङ, भाइस चेयरम्यान सुवास प्रधानले पनि वृक्ष रोपण कार्यमा सहभागिता जनाए।
पत्रकारहरुसित कुराकानी गर्दै दार्जिलिङ जिल्ला शासक डा प्रीति गोयलले पानी संरक्षणको लागि विभिन्न विभागहरुसित मिलेर 40-45 वटा खोला, नाला, झोडाहरु संरक्षणको लागि जीर्णोद्धारको कार्य शुरु गरिएको जानकारी गराइन्। उनले यस कार्यको लागि जीटीए प्रमुख अनित थापालाई धन्यवाद दिएकी छन्।
यसैगरी, जीटीए प्रमुख अनित थापाले पहाडमा पानीको स्रोतहरू घटेर गइरहेकाले यसको भरपाईमा ध्यानमा दिनुपर्छ भनी बताए। उनले भने, पानीको स्रोतहरू संरक्षण गर्न सके भावी पीढीले पानी पाउने छ। वन संरक्षण र जल संरक्षण गर्न सके भविष्यमा भावी पीढीले पानी पाउने छ। यस विषयमा कमान बस्ती र गाउँ क्षेत्रमा पनि जल संरक्षण र झोडा नाला संरक्षण विषयमा मानिसहरुलाई तालिम दिन आवश्यक छ।
हिन्दुस्थान समाचार / हनोक