गान्तोक, 11 अगस्त (हि.स.)। राजधानीको पाल्जोर स्टेडियमस्थित इन्डोर जिम्नाजियम हलमा सिक्किम राज्य अन्तर-विद्यालय ब्याडमिन्टन च्याम्पियनशिप 2025 शुरू भएको छ। ब्याडमिन्टन एसोसिएशन अफ् सिक्किम (बीएएस) ले आयोजना गरिरहेको यस प्रतियोगिताको उद्घाटन आज खेलकुद एवं युवा मामिला विभाग मन्त्री राजु बस्नेतले गरे।
मुख्य अतिथि मन्त्री बस्नेतले आफ्नो सम्बोधनमा बलियो खेल संस्कृति विकास गर्न प्रतिभाहरूको पहिचान विद्यालय स्तरबाटै गरिनु पर्छ भन्दै बीएएसलाई शिक्षा विभागको तर्फबाट बधाई दिए। उनले खेलप्रेमी मुख्यमन्त्रीको अगुवाईमा सिक्किम अहिले खेलको क्षेत्रमा स्वर्ण युगमा रहेको उल्लेख गर्दै खेलाडीहरूलाई यस अवसरको भूरपूर फाइदा उठाउन आह्वान गरे।
यस प्रतियोगिता अन्तर्गत जिल्लास्तरीय स्पर्धामा अण्डर-17 र अण्डर-19 वर्गमा लगभग 100 विद्यालयले भाग लिएका थिए, जसमध्ये 36 विद्यालय फाइनलको लागि चयनित भएका छन्। कार्यक्रममा बीएएस उपाध्यक्ष थेन्डुप छितेन भोटियाले यो च्याम्पियनशिप मुख्यमन्त्री तथा बीएएसका प्रमुख संरक्षकको ड्रीम प्रोजेक्ट रहेको जानकारी गराए। उनले जिल्लास्तरीय स्पर्धाहरूमा 96 विद्यालयका 667 विद्यार्थीहरूले भाग लिएको जानकारी गराए।
बीएएस अध्यक्ष जेकब खालिङले उचित प्रशिक्षणको माध्यमद्वारा सिक्किमको हरेक कुनाबाट प्रतिभाको खोजी अनि विकास गर्ने दृष्टिकोण दोहोऱ्याए। उनले यसको उद्देश्य राष्ट्रिय र अन्तरराष्ट्रिय मञ्चलगायत ओलम्पिकमा उपलब्धी हासिल गर्नु रहेको अवगत गराए।
यस प्रतियोगिताको समापन भोलि, 12 अगस्त, 2025 का दिन हुनेछ।
हिन्दुस्थान समाचार / बिशाल