सोनादा, 12 अगस्त (हि.स.)। सोनादा पुलिस आउट पोष्टद्वारा ड्रग्ससितै एकजनालाई पक्राउ गरिएको छ। सोनादा पुलिस आउट पोष्टका प्रभारी योगेस ठकुरीको अगुवाईमा ब्राउन सुगरसहित एक व्यक्तिलाई पक्राउ गरिएको छ।
दार्जिलिङ पुलिस अधीक्षकको निर्देशनमा सोनादा क्षेत्रमा ड्रग्स सेवन गर्ने, ओसार पसार गर्नेहरूलाई पक्राउ गर्ने कार्य जारी रहेको छ। यसभन्दा पहिला पनि ड्रग्स सेवन गर्ने धेरै जनालाई पुनर्वास केन्द्रमा पठाउने कार्य गरिएको छ।
ड्रग्स रोकथामको लागि सोनादा पुलिसले सराहनीय पहल गरिरहेको छ। यद्यपि, यस दिशामा स्थानीय गाउँ समाज पनि अघि आउनु पर्ने आवश्यकता देखिएको छ। पुलिसको पहलमा गाउँ समाजको साथ भए अवश्य यसलाई रोकथाम गर्न सकिने छ।
हिन्दुस्थान समाचार / हनोक