आमाहरू र महिलाहरूको सुविधालाई ध्यानमा राख्दै रम्फूमा 'आमा सुविधा घर' को स्थापना

aama samman diwas 
गान्तोक, 07 अगस्त (हि.स.)। रम्फू खेल मैदानमा आगामी 10 अगस्तका दिन हुन लागिरहेको 'आमा सम्मान दिवस' लाई लिएर द्रुत गतिमा तयारी चलिरहेको छ। यस क्रममा मुख्यमन्त्री कार्यालयले पनि कार्यक्रम स्थलमा विशेषरूपमा डिजाइन गरिएको 'आमा सुविधा घर' स्थापना गरिरहेको छ। उक्त जानकारी मुख्यमन्त्री कार्यालयकी मिडिया समन्वयक एवं एसआईए दिछेन ओङ्गमु भोटियाले आज जारी एक प्रेस विज्ञप्तिमा दिएकी छन्।

विज्ञप्तिमा जनाइए अनुसार, आमा सम्मान दिवस समारोह परिवार, समुदाय र सिक्किमको भविष्य निर्माणमा आमाहरूको अमूल्य योगदानलाई सम्मान गर्न राज्यस्तरीय कार्यक्रम हो। महिलाहरूको सहभागितालाई समर्थन गर्न, विशेष गरी साना बच्चाहरू भएका आमाहरूको लागि, आमा सुविधा घरले सुविधा, स्वच्छता, सुरक्षा र हेरचाहमा केन्द्रित महिला-केन्द्रित सुविधाहरूको विस्तृत श्रृंखला प्रदान गर्नेछ।

आमा सुविधा घरमा स्तनपान कक्ष, क्रेच सुविधा, लुगा फेर्ने कोठा, सेनेटरी न्यापकिन भेन्डिङ मेसिनहरू, स्वास्थ्य सेवा कर्नर, पुलिस बूथ तथा सफा र पहुँचयोग्य शौचालयहरू सामेल रहनेछन्। यो पहल रम्फू नगर पञ्चायतसँगको नजिक समन्वयमा र महिला, बालबालिका, ज्येष्ठ नागरिक र दिव्याङ्गजन कल्याण विभागको सहयोगमा कार्यान्वयन भइरहेको छ। यहॉं आङ्गनवाडी कार्यकर्ताहरू तैनाथ रहनेछन, जसले स्वयंसेवकको रूपमा सेवा प्रदान गर्नेछन्।

विज्ञप्तिमा भनिएको छ, ​यो अद्वितीय व्यवस्थाले मुख्यमन्त्रीको समावेशी शासनप्रतिको प्रतिबद्धता र समाजमा आमाहरूको भूमिकाप्रतिको उनको गहिरो सम्मानलाई प्रतिबिम्बित गर्दछ। 'आमा सुविधा घर' केवल एक सुविधा मात्र होइन, यो सिक्किमका महिलाहरूप्रति हेरचाह र कृतज्ञताको संकेत हो। सिक्किम सरकारले राज्यभरका आमाहरू र महिलाहरूलाई आमा सम्मान दिवसमा आमन्त्रित गर्दै आमा सुविधा घरका सुविधाहरूको उपयोग गर्न आह्वान गरेको छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande