खरसाङ, 07 अगस्त (हि.स.)। सिलगढीको हाकिमपाडामा भएको घटनालाई लिएर सिलगढीका भाजपा विधायक शंकर घोषको बयानको विरोध जनाउँदै युवा शक्तिले गाडीधुरामा उनको पुत्ला दहन गरेको छ। युवा शक्तिको आयोजनामा खरसाङ महकुमा अन्तर्गत गाडीधुरा बजारको शहीद मेजर दुर्गा मल्लको सालिग अघिको चौकमा सिलगढीका भाजपा विधायक शंकर घोषको पुत्ला दहन गरिएको छ।
पुत्ला दहन कार्यमा युवा शक्तिले 'भारतीय गोर्खालाई विदेशी भन्ने भाजपा विधायक शंकर घोष मुर्दावाद' भनी नारा पनि लगाए। भाजपा विधायक शंकर घोषको पुत्ला दहन विषयमा बोल्दै युवा शक्ति केन्द्रिय उपाध्यक्ष अनुप गदाल र भागोप्रमो खरसाङ महकुमा समितिका प्रवक्ता अनुप रामुदामुले सिलगढीको हाकिमपाडामा भएको घटनामा सिलगढीका भाजपा विधायक शंकर घोषले बाहिरबाट आएर भनी दिएको बयानको घोर विरोध जनाए। उनीहरूले गोर्खामाथि विधायक शंकर घोषको टिप्पणीलाई सहने छैन भनी बताएका छन्।
हिन्दुस्थान समाचार / हनोक