खरसाङ, 10 सेप्टेम्बर (हि.स.)। पश्चिम बंगाल सरकारको श्रम विभागको निर्देशनमा खरसाङ महकुमा श्रम आयुक्त कार्यालयको पहलमा खरसाङको बस बिसाउनी परिसरमा परिवहन श्रमिकहरूका लागि विशेष सचेतना शिविर सम्पन्न भएको छ। उक्त शिविरमा खरसाङ शहर क्षेत्रका परिवहन चालकहरु, खलासी एवं सिन्डीकेट चलाउने मानिसहरू सहभागी बनेका थिए।
कार्यक्रममा प्रमुख अतिथिको रुपमा खरसाङ चिमनी देवराली समष्टिका सभासद श्याम शेर्पा उपस्थित रहेका थिए भने विशिष्ट अतिथिहरुमा खरसाङ नगरपालिकाका चेयरम्यान ब्रिगेन गुरूङ, भाइस चेयरम्यान सुवास प्रधान, खरसाङ ट्रफिक ओसी बीरेन्द्र छेत्री उपस्थित थिए। पश्चिम बंगाल सूचना एवं सांस्कृतिक विभाग खरसाङको पक्षबाट एनटी शेर्पा एवं सांस्कृतिक टोली उपस्थित थिए।
मुख्य अतिथि सभासद शेर्पाले आफ्नो सम्बोधनमा चालक दाजु भाईहरुका लागि यो सचेतना कार्यक्रम महत्वपूर्ण रहेको बताउँदै यस विषयमा सबैजना पहिलेबाटै सचेत भएको राम्रो हो भनी बताए। उनले दुर्घटना अचानक हुन्छ र त्यस समय के कसो गर्नुपर्ने र सरकारले के कस्ता सहुलियतहरु दिएका छन्, त्यो बुझ्नु जरुरी रहेको बताए। उनले यस्ता शिविरहरु ग्रामीण क्षेत्रमा पनि आयोजना गरिएको खण्डमा असल हुने बताए।
कार्यक्रमलाई खरसाङ नगरपालिकाका चेयरम्यान ब्रिगेन गुरुङ, भाइस चेयरम्यान सुवास प्रधान, संयुक्त श्रमायुक्त उगे भोटिया र विभागको इन्स्पेक्टर अमीत लिम्बूले पनि सम्बोधन गरेका थिए। कार्यक्रममा पेन्सनबाहेक अतिरिक्त लाभ विषयमा सचेतना गराइयो। चालकवर्गको हित एवं शारीरिक सुरक्षा लिएर सरकारबाट पाइने सहुलियतहरु एवं पेन्सन योजना साथै आकस्मिक दुर्घटना भएर ज्यान गुमाउने चालकवर्गका परिवारले प्राप्त गर्ने पारिवारिक सहयोग विषय पनि जानकारी गराइयो।
सचेतना शिविरमा लाभार्थी पारिवारहरूलाई चेक पनि वितरण गरिएको थियो। यस योजना अन्तर्गत ज्यान गुमाउने दुई परिवारलाई 50-50 हजारको चेक वितरण गरिएको श्रम विभाग खरसाङका इन्स्पेक्टर अमीत लिम्बूले बताएका छन्।
हिन्दुस्थान समाचार / हनोक