लङ्भ्यू चियाबारीमा‌ केवल 10 प्रतिशत बोनस प्रदान गरिने भएपछि विरोध तीव्र
Longview-tea garden


खरसाङ, 10 सेप्टेम्बर (हि.स.)। खरसाङको लङ्भ्यू चिया बगानमा केवल 10 प्रतिशत बोनस (5-5 प्रतिशत) प्रदान गरिने भएपछि विवाद सिर्जना भएको छ।

सरकारको तर्फबाट यसपाली चियाबारीहरुमा दशैंको बोनस बीस प्रतिशत गरेर दिनुपर्ने एडभाइरी जारी भएपछि धेरै बगानहरुमा बोनस वितरण भइरहेको छ। तर लङ्भ्यू चियाबारीमा सरकारको एडभाइजरीलाई बेवास्ता गरेर केवल 10 प्रतिशत मात्र, त्यो पनि 5-5 प्रतिशत किस्ता गरेर दुईपल्टमा दिने भनिएपछि आज इण्डियन गोर्खा जनशक्ति फ्रण्टका पदाधिकारीहरु र यसको भातृ संगठन हाम्रो हिल तराई डुवर्स चियाबारी श्रमिक संगठनका पदाधिकारीहरुले सह श्रमायुक्तलाई ज्ञापन पत्र बुझाएका छन्।

सरकारले तोकेको २०% पूजा बोनस नदिई लङ्भ्यू चिया बगान व्यवस्थापनले १०% मात्र बोनस दुई किस्तामा दिने निर्णय गरेपछि श्रमिक संगठनले कडा आपत्ति जनाएको छ। इण्डियन गोर्खा जनशक्ति फ्रण्टको नेतृत्वमा हाम्रो हिल–तराई–डुवर्स चियाबारी श्रमिक संघले श्रमिक भवनमा पुगेर सह श्रमायुक्तलाई ज्ञापन बुझाउँदै सरकारले तोकेको बोनस तत्काल कार्यान्वयन गर्न माग गरेको छ।

यस विषयमा पत्रकारहरुसित कुराकानी गर्दै इण्डियन गोर्खा जनशक्ति फ्रण्टको खरसाङको प्रवक्ता रामकृष्ण शर्माले भने, सरकारले बीस प्रतिशत बोनसको लागि जारी गरेको एडभाइजरी लङ्भ्यू चियाबारीको मालिक पक्षले अनदेखा गरेकाले हामीले सह श्रमायुक्तलाई ज्ञापन पत्र बुझाएका हौँ।‌ उनले लङ्भ्यू चियाबारीको मालिक सरकारभन्दा ठूलो, जीटीएभन्दा ठूलो हो भनी प्रश्न गर्दै बीस प्रतिशत बोनस किन नदिएको र कसको निर्देशनमा यसो गरेको भनी प्रश्न गरेका छन्।

उनले बीस प्रतिशतको सट्टामा केवल 10 प्रतिशत, त्यो पनि दुई किस्तामा 5-5 प्रतिशत गरेर दिने भनेर पत्र पठाएको रहेछ, जसको विरोधमा आफूहरूले ज्ञापन दिने काम गरेको बताए। शर्माले भोलिको दिनमा श्रमिकहरु र श्रमिक संगठनहरु यसको विरोधमा‌ आन्दोलनमा उत्रेको खण्डमा कसले जिम्मेवारी लिने भनी प्रश्न गरेका छन्।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande