पाकिम जिल्लापालद्वारा शैक्षिक एवम् साक्षरता कार्यक्रम कार्यान्वयनमाथि समिक्षा बैठक सम्पन्न
पाक्योङ जिल्लापालद्वारा शैक्षिक एवम् साक्षरता कार्यक्रम कार्यान्वयनमाथि समिक्षा बैठक सम्पन्न


पाकिम, 10 सेप्टेम्बर (हि.स.)। पाकिमका जिल्लापाल रोहन अगवणेको अध्यक्षतामा आज आरडीडी कम्युनिटी कम्प्लेक्स, रुर्बन पाकिममा माध्यमिक तथा उच्च माध्यमिक विद्यालयका प्रधानाध्यापकहरू र पाकिम जिल्लाअन्तर्गतका सबै ग्राम पञ्चायत एकाईका पञ्चायत अध्यक्षहरूसँग बैठक सम्पन्न भयो।

यस बैठकमा ग्रामीण क्षेत्रमा शैक्षिक साक्षरता सुदृढ गर्ने विषयमा जोड दिँदै हाल सञ्चालित शैक्षिक पहलहरूको प्रगतिमाथि समिक्षा गरियो। छलफलमा मुख्यत: मुख्यमन्त्री संरक्षकत्व कार्यक्रम तथा केन्द्र सरकारद्वारा प्रायोजित उल्लास–नव भारत साक्षरता कार्यक्रम (एनएलपी) विषयमा छलफल गरियो।

जिल्लापालले आफ्नो सम्बोधनका क्रममा पहिलो चरण अन्तर्गत राज्यपालद्वारा अङ्गीकृत विद्यालयहरूमा पाकिम जिल्लाका दुई विद्यालय—सरकारी उच्च माध्यमिक विद्यालय बडापाथिङ र सरकारी उच्च माध्यमिक विद्यालय आसम लिङ्जे चयन भएको जानकारी दिए। साथै, मुख्यमन्त्री (एसएचआरआई) विद्यालय योजनाको पहिलो चरणमा सरकारी निम्न माध्यमिक विद्यालय अप्पर सुमिन चयन भएको पनि जानकारी गराए।

अगवणेले जिल्लास्तरीय कार्यालयद्वारा (उल्लास) कार्यक्रम कार्यान्वयनमा गरिएको प्रयासको प्रशंसा गर्नुहुँदै सक्रिय सङ्लग्नता निरन्तर राख्न आग्रह पनि गरे। यसै कार्यक्रम अन्तर्गत विद्यालयबाट छुटेका विद्यार्थीहरूको पहिचान गरी पुन साक्षर बनाउने प्रयासमा लाग्नुपर्ने कुरामाथि पनि जोड दिए।

मुख्य शिक्षा अधिकारी पाकिम नारायण मिश्राले आगामी २०२६ को मई महिनासम्ममा सिक्किमलाई पूर्ण साक्षर राज्य बनाउने मुख्यमन्त्रीको लक्ष्यबारे प्रकास पार्दै यस अभियानमा विद्यालयका प्रधानअध्यापकहरू र पञ्चायत प्रतिनिधिहरूको भूमिकाबारे चर्चा गरे। उनले मुख्यमन्त्री संरक्षकत्व कार्यक्रमले दिएको सकारात्मक परिणाम प्रस्तुत गर्दै यस कार्यक्रमलाई कार्यान्वयन गर्ने जिम्मा पाएको स्थानीय संस्था (क्याटालिटिक चार्टर एजुकेशन फाउन्डेसन)-को योगदानको प्रशंसा गरे।

जिल्ला नोडल अधिकृत (उल्लास) एन्ड्र्यु सुब्बाले राष्ट्रिय शिक्षा नीतिअन्तर्गत सञ्चालन भइरहेको नव भारत साक्षरता कार्यक्रमको उद्देश्यबारे जानकारी दिए। यस प्रकारको कार्यक्रमले वयस्क साक्षरता, जीवन उपयोगी सीप, आधारभूत शिक्षा र आजीवन सिकाइमा जोड दिने बताए। स्वयंसेवकको सङ्लग्नताबाट सञ्चालित यस अभियानले (दीक्षा) पोर्टल र (उल्लास) मोबाइल एपमार्फत क्षेत्रीय भाषामा शैक्षिक सामग्री उपलब्ध गराउँने पनि उल्लेख गरे। साथै, जिल्लामा यस कार्यक्रम कार्यान्वयन गर्दा सामना गर्नुपरेका चुनौतीहरूबारे पनि जानकारी दिए।

बैठकको अन्त्यमा अन्तरक्रिया प्रधानाध्यापकहरू र पञ्चायत प्रतिनिधिहरूले विभिन्न सुझाव तथा माङ्गहरू राखेका थिए, जसको जवाफ सम्बन्धित अधिकारीहरूले दिए।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande