मुख्यमन्त्रीको भ्रमणावधि पार्टी नेताहरूको विरोधमा पोस्टर, वित्तीय भ्रष्टाचारको आरोप
मुख्यमन्त्रीको भ्रमणावधि पार्टी नेताहरूको विरोधमा पोस्टर, वित्तीय भ्रष्टाचारको आरोप


जलपाईगुड़ी, 10 सेप्टेम्बर (हि.स.)। मुख्यमन्त्रीको जिल्ला भ्रमणको दिन तृणमूल कंग्रेसद्वारा संचालित ग्राम पञ्चायतका प्रधान अनि पार्टी पदाधिकारीहरूको विरोधमा केन्द्रको पैसा धाँधली गरेको आरोप लगाउँदै पोस्टर टाँसियो। बुधवार मागुरमारी दुई नम्बर ग्राम पञ्चायतको झुमुर, चौरंगी समेत ग्राम पञ्चायत कार्यालयमा यस्ता पोस्टरहरू टाँसिएको देखियो।

पोस्टरमा लेखिएको छ, विकासको लागि केन्द्र सरकारको 15औं वित्तीय आयोग फण्डको 23-24 र 24- 25 वित्तीय वर्षको 25 लाख रुपियाँ कहाँ गयो। पञ्चायत प्रधान सीमा राय र तपन सरकारले यो पैसा खाएका छन् भनी पोस्टरमा आरोप लगाइएको छ। पोस्टरमा सीबीआई जाँच तथा उनीहरूको पक्राउको माग पनि गरिएको छ। त्यसपछि सम्पूर्ण ग्राम पञ्चायत क्षेत्रमा खैलाबैला मच्चिएको छ। यस्तो पोस्टर ग्राम पञ्चायत कार्यालयमा पनि टाँसिएको छ।

अर्कोतिर प्रधान सीमा रायको आरोप छ, पोस्टर भाजपाले टाँसेको हो। यो उनीहरूको षड़यन्त्र हो। केन्द्रिय वित्त आयोगबाट ग्राम पञ्चायतलाई धेरै कम पैसा आएको छ जसलाई गाउँको विकासमा खर्चिएको छ।

भाजपाका पश्चिम मण्डल अध्यक्ष पलाश बसाकले भने, केन्द्र सरकारले विकासको लागि पैसा पठाइरहेको छ, त्यसलाई तृणमूल कंग्रेसका प्रधान, अञ्चल अध्यक्ष एवं अन्य नेताहरूले पचाइरहेका छन्। यसपूर्व पनि मागुरमारी दुई नम्बर ग्राम पञ्चायतका प्रधान तथा तृणमूल कंग्रेस नेताहरूविरूद्ध धुपगुड़ीको बीडीओ एवं प्रशासनिक अधिकारीहरू समक्ष सिकायत गरिएको थियो। तर आजसम्म कुनै कारबाही भएको छैन। भ्रष्टाचार अहिले पनि जारी नै छ।

यसबीच पोस्टर टाँसिएको खबर पाएर तृणमूल कंग्रेसको धुपगुड़ी ग्रामीण कमिटीका प्रखण्ड अध्यक्ष मलय राय तथा मागुरमारी दुई नम्बर ग्राम पञ्चायतका युवा अध्यक्ष नूर आलम स्थानीय मानिसहरूलाई लिएर घटनास्थलमा पुगे।

युवा अध्यक्ष नूर आलमले भने, भाजपाले मुख्यमन्त्रीको उत्तर बंगाल भ्रमणलाई केन्द्र गर्दै झुटो आरोप लगाएर षड़यन्त्र रच्नको लागि पोस्टर टाँसेको हो। आरोप पूर्ण रूपले निराधार छ। नूर आलमले स्पष्ट रूपमा भने, तृणमूल कंग्रेसले यस्तो फोहोरी राजनीति गर्दैन। भाजपाले राती अँध्यारोमा पोस्टर टाँसेको हो र आफ्नो दुर्नीतिलाई लुकाउनको लागि तृणमूल कंग्रेसको नाम जपिरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande