कोलकाता, 10 सेप्टेम्बर (हि. स.)। हिमाली देश नेपालमा भइरहेको ‘जनरेशन-जेड आन्दोलन’-मा अहिलेसम्ममा 19 जना मानिसहरूको मृत्यु र कैयौं घाइते भएपछि पश्चिम बंगालको भारत-नेपाल सीमामा सुरक्षा व्यवस्थालाई कड़ा बनाइएको छ। यस आन्दोलनको कारणले 100 जना भारतीय ट्रक चालक औ पर्यटकहरू सीमामा फसेका छन्।
दार्जिलिङ जिल्ला पुलिसले फसेका भारतीयहरूलाई सहयोग गर्नको लागि 24 घण्टाको कन्ट्रोल रूम स्थापना गरेको छ। दार्जीलिङ पुलिसका अधीक्षक प्रवीण प्रकाशले गए मंगलवार राती जारी आफ्नो बयानमा भने, हामीले सीमा क्षेत्रमा घर-घर खोजी कार्य शुरू गरेका छौं। यतातिर अशान्ति भएको कुनै खबर छैन, तर हामी सतर्क छौं। नेपाल पुलिससित लगातार सम्पर्क राखिरहेका छौं। सशस्त्र सीमा बल (एसएसबी) पनि अलर्टमा छ। कुनै पनि भारतीयलाई नेपालमा समस्या भए दार्जीलिङ जिल्ला पुलिस हेल्पलाइनमा सम्पर्क गर्ने अपील गरिन्छ।
आधिकारिक घोषणा नभए पनि सिलगढ़ी नजिक पानीट्याङ्की सीमाबाट हुने यातायातलाई पूर्ण रूपले रोकिएको छ। केन्द्र र राज्य सरकारले मिलेर सीमा क्षेत्रहरूमा निगरानी बढ़ाउने अनि सुरक्षामा चूकदेखि बच्ने उपाय गरिरहेको छ।
सीमा क्षेत्रको वातावरण तनाउपूर्ण भएको छ। पानीट्याङ्की बजार पूर्ण रूपले बन्द छ। यसको ठीक पारी नेपाल सीमामा गए मंगलवार प्रदर्शनकारीहरूले टायर बालेर विरोध प्रदर्शन गरे जसमा दुईजना मानिसहरूको मृत्यु भयो।
सूत्र अनुसार सीमा सुरक्षालाई दुईगुणा बनाइेको छ भने अतिरिक्त जवानहरूलाई तैनाथ गरिएको छ। रक्षा मन्त्रालयले ‘हाई अलर्ट’ जारी गरेको छ। सीमा पारी प्रत्येक वाहनको गहन जाँच गरिँदैछ साथै डक स्क्वायडलाई पनि तैनाथ गरिएको छ। पुलिसले हरेक वाहनका चालक तथा यात्रीहरूको नाम-ठेगानाको रेकर्ड राखिरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा