मेजर दुर्गा मल्लको जीवनमाथि आधारित नाटक 'बलिदान' 25 सेप्टेम्बरमा मञ्चन गरिने
Bharatiya Gorkha parisangh


गान्तोक, 10 सेप्टेम्बर (हि.स.)। भारतीय गोर्खा परिसंघ, सिक्किम शाखाले आगामी 25 सेप्टेम्बरका दिन बलिदान दिवस पालन गर्ने भएको छ। यस अवसरमा परिसंघले नाटक 'बलिदान' मञ्चन गर्ने र गोर्खा गौरव सम्मान प्रदान गर्ने बताएको छ।

राजधानीमा आज आयोजित एक पत्रकार सम्मेलनमा भारतीय गोर्खा परिसंघ (भागोप) सिक्किम शाखाका अध्यक्ष चुनिलाल घिमिरेले उक्त जानकारी दिए। उनले भारतको स्वतन्त्रता आन्दोलनमा आफ्नो जीवन बलिदान दिने गोर्खा स्वतन्त्रता सेनानी मेजर दुर्गा मल्ललाई ब्रिटिश शासनले 25 अगस्त, 1944 फॉंसीको सजाय दिएको जानकारी गराए। ती महान स्वतन्त्रता सेनानीको सम्मानमा हरेक वर्ष 25 अगस्तका दिन बलिदान दिवस पालन गरिने गरिएको उनले बताए।

मेजर दुर्गा मल्लका साथै क्याप्टन रामसिंह ठकुरी, खडका बहादुर बिष्ट लगायत अन्य धेरै गोर्खाहरूले पनि स्वतन्त्रता आन्दोलनमा आफ्नो उल्लेखनीय योगदान दिएको उनले अवगत गराए। स्वतन्त्रता सेनानी भगत सिंहमाथि धेरै फिल्महरू बनिए, तर गोर्खा शहीदहरूमाथि अहिलेसम्म यस्तो कार्य हुन नसकेको उनले आसय व्यक्त गरे।

अध्यक्ष घिमिरेले गत वर्ष 15 दिसम्बरका दिन 'बलिदान' नाटक मञ्चन गरिएको र धेरै राम्रो प्रतिक्रिया प्राप्त भएको बताए। प्रशंसकहरूले यो नाटक पुन: मञ्चन गर्नुपर्छ भन्ने माग र यो नाटक सबैले हेर्नुपर्छ भन्ने सोचका साथ यो 'बलिदान' आगामी 24 सेप्टेम्बरका दिन मञ्चन गर्ने निर्णय लिइएको उनले बताए। राम्रो नाटक प्रस्तुत गर्न सक्यौं भने दर्शकहरू अवश्य हेर्न आउने रहेछन् भन्ने उनले मनतव्य पनि व्यक्त गरे।

प्रश्नहरूको जवाफमा घिमिरेले यो नाटक मेजर दुर्गा मल्ल लगायत गोर्खा स्वतन्त्रता सेनानीहरूको जीवनमाथि आधारित रहेको बताए। आफू स्वयंद्वारा लिखित लगभग डेढ़ घण्टा लामो यो नाटक राजधानीको मनन केन्द्रमा सॉंझ चार बजीदेखि शुरू हुने पनि उनले बताए। उनले सबैलाई उक्त नाटक हेरिदिन अपील पनि गरे। यस अतिरिक्त, उक्त दिन समाजमा उल्लेखनीय योगदान पुऱ्याउने एक विशिष्ट व्यक्तित्वलाई 'गोर्खा गौरव सम्मान' ले सम्मानित गरिने पनि उनले जानकारी गराए।

पत्रकार सम्मेलनमा भागोप सिक्किम शाखाकी कोषाध्यक्ष चन्द्र राई, नाटक बलिदानकी कार्यकारी निर्देशक श्रद्धा छेत्री, प्रबन्धक प्रदीप रसाइली र कलाकार रुपा तामाङ पनि उपस्थित थिए।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande