बुडापेस्ट, 10 सेप्टेम्बर (हि.स.)। पुर्तगालले फीफा वर्ल्ड कप 2026 क्वालिफायर्समा मंगलवार राति रोमाञ्चक स्पर्धामा हंगेरीलाई 3-2 ले हराएर अङ्क तालिकामा शीर्ष स्थान हासिल गरेको छ।
म्यानचेस्टर सिटीका जोआओ केन्सिलोले बक्स छेउबाट उत्कृष्ट विजयी गोल गरे। यसैगरी, स्ट्रार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले पनि गोल गरेर विश्व क्वालिफाइङमा सर्वाधिक गोल गर्ने संयुक्त रेकर्ड आफ्नो नाम गरे।
रोबर्टो मार्टिनेजको टीमले शुरूको दुई स्पर्धामा लगातार जित दर्ता गरेको थियो। यस अघि उसले आर्मेरियालाई 5-0 ले हराएको थियो। पुर्तगाल अब ग्रुप एफमा 6 अङ्कका साथ शीर्षमा छ भने आर्मेनिया तीन अङ्कका साथ दोस्रो स्थानमा छ।
यद्यपि, स्पर्धाको शुरूवात हंगेरीको पक्षमा रह्यो। फरेन्कवारोस क्लबका स्ट्राइकर बारनाबास वार्गाले जोल्ट नागीको क्रसमा गोल गरे र आयोजक टीमलाई बढत दिलाए। तर, म्यानचेस्टर सिटीका मिडफील्डर बर्नार्डो सिल्वाले गोल गरेर स्कोर 1-1 गरे।
दोस्रो हाफमा 58औं मिनटमा रोनाल्डोले पेनाल्टीमा गोल गरेर पुर्तगाललाई 2-1 गोलले बढत दिलाए। यो गोल उनको विश्व कप क्वालिफाइङ करियरको 39औं गोल थियो। यसका साथै उनी ग्वाटेमालाका पूर्व स्टार कार्लोस रूइजको रेकर्डको बराबरीमा पुगेका छन्।
84औं मिनटमा वार्गाले एक गोल लगाएर हंगेरीको गोल स्कोर बराबर गरे। तर, दुई मिनटपछि पुर्तगालका केन्सिलोले निर्णायक गोल लगाएर टीमलाई 3-2 गोलले जित दिलाए। हंगेरीले 1986 पछि विश्व कपमा क्वालिफाई गर्न सकेको छैन र पुर्तगाल विरुद्ध अहिलेसम्म एउटै पनि जित दर्ता गरेको छैन।
हिन्दुस्थान समाचार / बिशाल