गान्तोक, 10 सेप्टेम्बर (हि.स.)। गए रातिदेखि परेको लगातार भारी वर्षापछि आज बिहान करीब 7:30 बजे गेजिङ बर्मेक निर्वाचन क्षेत्रको थाङसिङमा पैह्रोका कारण एउटा दुःखद घटना घटेको छ। यस प्राकृतिक विपत्तिमा कमल पोर्तेलकी पत्नी विष्णु माया पोर्तेलको ज्यान गएको छ। पैह्रोका कारण उनीहरूको घर पूर्ण रूपमा क्षति भएको छ। कमल पोर्तेल आफैँ पनि यस घटनामा घाइते भएका छन्।
गेजिङ बर्मेक समष्टिका विधायक लोकनाथ शर्माले पीडित परिवारको घर पुगेर श्रद्धाञ्जली अर्पण गर्नका साथै शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गर्दै आवश्यक सहयोग तथा राहतका विषयमा जानकारी लिए। घटनास्थलमा डीपीओ डीएमडीडी गेजिङ गणेशकुमार राई पनि पुगेर क्षतिको मूल्याङ्कन गर्नका साथै राहत तथा उद्धार कार्यका लागि समन्वय गरेका थिए।
घटनाबारे स्थानीय प्रशासनलाई तत्काल जानकारी दिइएको र प्रभावित परिवारलाई आवश्यक सहयोग तथा राहत उपलब्ध गराउने कार्य अगाडि बढाइएको छ।
हिन्दुस्थान समाचार / बिशाल