गान्तोक, 10 सेप्टेम्बर (हि.स.)। सिक्किम डेमोक्रेटिक फ्रण्ट (एसडीएफ) पार्टीको आज एउटा जरूरी सभा गान्तोक एवं पाकिमका वरिष्ठ उपाध्यक्ष (प्रभारी) बिजय प्रधानको अध्यक्षतामा पार्टी मुख्यालयमा सम्पन्न भयो। सभामा बिजुली आपूर्तिको अनियमितता र जनताले भोग्नु परिरहेको कठिनाईमाथि गहन छलफल भएको बताइएको छ।
एसडीएफद्वारा आज जारी प्रेस विज्ञप्ति अनुसार, पूर्व एसडीएफ सरकारले ग्रामीण भेगका जनतालाई 200 युनिट नि:शुल्क बिजुली प्रदान गरेको थियो। अहिले जनताले खपत गरेको बिजुलीको बिल अत्यधिक बढेर आइरहेको छ। अर्कातिर, बिजुली बत्ती अनियमित छ। यस्तो अवस्थाले जनतालाई अत्यधिक मार्का परेको छ। आजको सभाले सरकारको यस्तो गरीब विरोधी नीतिको घोर बिरोध गर्दै सरकारलाई तुरुन्तै पहिलाको सरकार जस्तै नीति लागू गर्न जोड्दार माग राखेको विज्ञप्तिमा उल्लेख छ।
एसडीएफले हिन्दुहरुको महान पर्वमा बिजुली आपूर्ति अनियमित नहोस् भन्ने विभाग समक्ष माग राखेको छ। अर्कातिर, एसकेएमले चुनाउअघि जनतालाई दिएको वाचा अनुसार चाड पर्व खर्च 50 हजार प्रदान गरिनु पर्ने माग पनि एसडीएफले राखेको छ।
हिन्दुस्थान समाचार / बिशाल