सोनादा क्षेत्रलाई लिएर दोस्रो अन्तर प्राथमिक पाठशाला प्रश्नोत्तर प्रतियोगिता सम्पन्न
सोनादा क्षेत्रलाई लिएर दोस्रो अन्तर प्राथमिक पाठशाला प्रश्नोत्तर प्रतियोगिता सम्पन्न


नानीहरुको लागि यो मञ्च एकदमै उत्तम रहेको छ: आरबी राई

सोनादा, 13 सेप्टेम्बर (हि.स.)। गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको प्राथमिक शिक्षा विभागको आयोजनामा सोनादा क्षेत्रलाई लिएर दोस्रो अन्तर प्राथमिक पाठशाला प्रश्नोत्तर प्रतियोगिता 2025 सम्पन्न गरिएको छ। रंगबुल उच्चतर माध्यमिक विद्यालय भवनमा आयोजित कार्यक्रममा प्रमुख अतिथिको रुपमा पूर्व सांसद एवं भाषा संग्रामी आरबी राई उपस्थित रहेका थिए।

कार्यक्रममा विशिष्ट अतिथिको रुपमा गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनका डेपुटी चेयरम्यान सभासद राजेस चौहान, दार्जिलिङ महकुमाका महकुमा अधिकारी रिचार्ड लेप्चा, जीटीएका कार्यकारी निर्देशक साम्देन डुक्पा, अवकाशप्राप्त शिक्षकहरु, एसआई, एएसआई, पञ्चायत प्रधान उपस्थित थिए।

गत 4 सेप्टेम्बर गोरुबथानबाट शुरु भएको प्राथमिक पाठशाला स्तरीय प्रश्नोत्तर प्रतियोगिता बुधवार मिरिक, बिहिवार खरसाङ र शुक्रवार रङ्ली रङ्लियट खण्डमा र शनिवार सोनादामा सम्पन्न भयो। यस प्रतियोगिताको फाइनल आगामी 14 नोभेम्बरका दिन सुकनामा हुने बताइएको छ।

कार्यक्रममा सोनादा क्षेत्रका अवकाशप्राप्त शिक्षकहरुलाई सम्मान पनि जनाइयो। कार्यक्रमका प्रमुख अतिथि भाषा संग्रामी राईले आफ्नो सम्बोधनमा जीटीएले नानीहरुको शिक्षाको लागि राम्रो पहल गरेको बताउँदै प्राथमिक शिक्षा व्यवस्थालाई सुदृढ गर्नका लागि पढाईबाहेक यस्ता क्रियाकलापहरु आयोजना गर्नु आवश्यक रहेको बताए। उनले यसको लागि जीटीए प्रमुख अनित थापा र जीटीएको डेपुटी चेयरम्यान राजेस चौहानलाई धन्यवाद दिए।

उनले नानीहरुले जति पढे पनि यसरी नै बाहिरी ज्ञान राख्नु पनि आवश्यक हुन्छ भन्दै नानीहरुको लागि यो मञ्च एकदमै उत्तम रहेको बताए। उनले मानिस जति नै ज्ञानी भए पनि ज्ञान लिन छोड्नु हुँदैन अनि जति नै ज्ञानी भए पनि संस्कार सिक्नुपर्छ र अरुलाई सम्मान गर्न सक्नुपर्छ भनी बताए। पूर्व सांसद राईले जीटीएले जीटीए आईडल शुरू गरेर राम्रो काम गरेको बताउॅंदै अब साहित्यको क्षेत्रमा कवि र नाट्य क्षेत्रमा नाटककारहरुलाई पनि मञ्च दिनु पर्ने सुझाउ जीटीएलाई दिए।

कार्यक्रमलाई दार्जिलिङ महकुमा अधिकारी रिचार्ड लेप्चा, जीटीएको डेपुटी चेयरम्यान राजेस चौहान, जीटीएका कार्यकारी निर्देशक सामदेन डुक्पाले पनि सम्बोधन गरेका थिए।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande