खरसाङ, 15 सेप्टेम्बर (हि.स.)। खरसाङ नगरपालिका क्षेत्रको मैलारु फ्याँक्ने शहरदेखि 7 किलोमिटर टाडामा स्थित चाइना ओजी (सुन्तला पाखा) जाने रोड पानी झरीले भत्काएको छ। यस कारण मैला फ्याँक्न धेरै असुविधा भइरहेको जानकारी प्राप्त भएको छ।
खरसाङ नगरपालिका क्षेत्रका मैलाहरु फ्याँक्ने ठाउँ जाने रोडको निरीक्षण आज खरसाङ नगरपालिकाका चेयरम्यान ब्रिगेन गुरुङ, भाइस चेयरम्यान सुवास प्रधान, कार्यकारी अधिकारी कैलाश प्रसाद र एसएईको संयुक्त टोलीले गरे। निरीक्षणपछि खरसाङ नगरपालिकाको तर्फबाट भाइस चेयरम्यान सुवास प्रधानले मैला फ्याँक्ने ठाउँ जाने रोड पानी झरीले भत्काएको र केही दिनको लागि मैलाहरु फ्याँक्न नसकिने बताए।
उनले बाटोमा बालुवा र बाटोको अवस्थालाई ध्यानमा राखेर खरसाङ नगरपालिका क्षेत्रका मैलाहरु केही दिनको लागि आफ्नै घरमा भेला पारेर राखिदिन अनुरोध गरेका छन्। उनले खरसाङ बजारका व्यवसायीहरु, दोकानेहरु र स्थानीयहरुलाई अनुरोध गर्दै केही दिनको लागि आफ्नै घरमा मैलाहरु संकलन गरिदिन आह्वान् गरेका छन्।
भाइस चेयरम्यान सुवास प्रधानले मैला फ्याँक्ने ठाउँ जाने रोडको मरमत्तिको कार्य चॉंडै पूरा गरे मैलाहरु फ्याँक्न शुरु गरिने बताए। यसका साथै, यो रोडको मरमत्तिको लागि खरसाङ नगरपालिकाका ठेकेदार संगठनलाई जानकारी गराइएको पनि उनले बताएका छन्।
---------------
हिन्दुस्थान समाचार / हनोक