सिलगढी, 15 सेप्टेम्बर (हि.स.)। सिलगढीमा ट्रिनिटी कलेज अफ् लण्डनको 'ट्रिनिटी डे 2025' पालन गरिएको छ। ट्रिनिटी कलेज अफ् लण्डन अन्तर्गत अन्दान्ते स्कूल अफ् म्यजिक सालबारी सिलगढीका निर्देशक अभिषेक घहतराजको सक्रियतामा आयोजित कार्यक्रममा ट्रिनिटी कलेज अफ् लण्डनको अल इण्डियाका प्रबन्धक सचिन दास, अञ्जली माटा र एकेडेमिक कोच डेल एडवर्ड्स विशेष रूपमा उपस्थित थिए।
कार्यक्रममा ट्रिनिटी कलेज अफ् लण्डन अन्तर्गत विभिन्न स्थानहरुका सङ्गीत संस्थानका शिक्षकहरुका तर्फबाट प्रिसा तामाङले पाश्चात्य क्लासिकल सङ्गीत, आशिष छेत्रीले पाश्चात्य क्लासिकल र नर्बु छिरिङ शेर्पाले रक एण्ड पो म्युजिक प्रस्तुत गरेका थिए। कार्यक्रममा ट्रिनिटी कलेज अफ् लण्डन अन्तर्गत विभिन्न सङ्गीत संस्थानहरू कालेबुङ, सिलगढी, डुवर्स, खरसाङ, मिरिक, दार्जिलिङबाट सङ्गीत शिक्षकहरु उपस्थित थिए।
यस कार्यक्रम विषयमा पत्रकारहरुसित कुराकानी गर्दै ट्रिनिटी कलेज अफ् लण्डन अन्तर्गत अल इण्डियाका प्रबन्धक सचिन दासले सिलगढी र वरपरका सङ्गीतका शिक्षकहरुलाई लिएर म्युजिकल कार्यक्रम आयोजना गरिएको बताए। उनले शिक्षकहरुले वर्षभरि सङ्गीत सिकाउने गर्छन् भने उनीहरुलाई बधाई दिन साथै उनीहरूलाई अझ सङ्गीतको ज्ञान प्रदान गर्ने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको बताए।
उनले भारतभरि 36 वटा शहरहरुमा ट्रिनिटी डे 2025 आयोजना गरिएको पनि जानकारी गराए। उनले 1872 सालदेखि विश्वभरिमा ट्रिनिटी कलेज अफ् लण्डनले परीक्षा लिइरहेको र भारतको कोलकातामा प्रथमपल्ट 1886 सालमा शुरु गरिएको जानकारी गराए।
अन्दान्ते स्कूल अफ् म्यजिक सालबारी सिलगढीका निर्देशक अभिषेक घहतराजले यो कार्यक्रम ट्रिनिटी डे पालन गर्न गरिएको बताए। उनले यो कार्यक्रम आयोजना गर्नुको मुख्य उद्देश्य सङ्गीत शिक्षकहरुको योगदान र उनीहरुले गरिरहेका कार्यहरूको प्रशंसा गर्नु र धन्यवाद दिनु रहेको बताए।
हिन्दुस्थान समाचार / हनोक