गेजिङ, 15 सेप्टेम्बर (हि.स.)। आपदा सम्भावित क्षेत्रहरूको न्यूनीकरण उपायको समीक्षा अनि विपद् अवधि उद्धार, राहत र पुनर्स्थापना प्रयासहरूमा सरोकारवालाहरू बीचको समन्वयलाई सहज बनाउन गेजिङ जिल्लामा एउटा आपतकालीन बैठक सम्पन्न भयो। जिल्लापाल कार्यालय गेजिङको सम्मेलन कक्षमा आयोजना गरिएको बैठकको अध्यक्षता जिल्लापाल तथा अध्यक्ष (डीडीएमए) तेञ्जिङ डी. डेञ्जोङपाले गरेका थिए।
जिल्लापालले पछिल्ला केही दिनदेखि गेजिङ जिल्लाले भारी वर्षाका कारण व्यापक आपदाको सामना गर्नुपरिरहेको र बर्मेक, रिम्बिक अनि सर्दुङमा भएको जनधनको क्षतिबारे गहिरो चिन्ता व्यक्त गर्दै विपद अवधि गरिएका उद्धार कार्यहरूलाई प्रकाश पारे। विभिन्न सडक समस्याबारे चर्चा गर्दै विशेषगरी खोरुङको सडक स्थिति र यहाँ भइरहेको समस्याबारे गम्भीर ध्यानाकर्षण गराउँदै शीघ्र समाधान गर्नुपर्ने सुझाउका साथ सम्बन्धित पक्षलाई कडा निर्देशन दिए। यसका साथै रिम्बिकमा भत्किएको पुलको पनि निरीक्षण गरी स्थानीयका लागि ओहोरदोहोर योग्य पुल निर्माण गर्न निर्देशन दिए।
महकुमा अनि खण्ड विकास अधिकारीहरूले आआफ्नो क्षेत्रलाई विपद् अवधि उचित रूपमा सम्हाल्न आग्रह गर्दै सबै विभागले डीएसी र डीडीएमए-सँग समन्वय गर्न आह्वान गरे। यतिबेला आपदाको समय भएकाले सबै अधिकारीहरूले उत्कृष्ट सहकार्य गर्नुपर्ने र तत्काल प्रतिक्रिया जनाउनुपर्ने कडा निर्देशन दिए। विपदको समय राहत शिविर लगाउनुपर्ने परामर्शका साथ जिल्लापालले यसका लागि खाद्य आपूर्ति विभागको समन्वयको आवश्यकता औँल्याए। हालै उत्पन्न बिजुलीको समस्यालाई लिएर ऊर्जा विभागको ध्यानाकर्षण गराउँदै बिजुलीको व्यवस्था शीघ्र सुनिश्चित गर्न आग्रह गरे।
जेसीबी, एम्बुलेन्स लगायतका आवश्यक संयन्त्रहरूको निरन्तर देखभाल गर्दै तैनाथ स्थितिमा राख्न आदेश दिए। सबैको समन्वयमा विपद् स्थितिको सामना गर्नुपर्ने सुझाउ राख्दै प्रत्येक विभागले आआफ्नो जिम्मेवारीलाई निष्ठापूर्वक निर्वहन गर्न पनि जिल्लापालले आग्रह गरे।
बैठकमा उपस्थित अधिकारीहरूद्वारा विपद्का समय आआफ्नो विभागद्वारा गरिएका समन्वित प्रयास र सहयोगी कार्यहरूको विवरण प्रस्तुत गरियो। साथै, छलफलका क्रममा उपस्थित अधिकारीहरूबाट विभिन्न सुझाउ, सल्लाह र परामर्श पनि दिइएको डीआईओ गेजिङले जानकारी गराएका छन्।
हिन्दुस्थान समाचार / बिशाल