खरसाङ, 22 सेप्टेम्बर (हि.स.)। खरसाङ महकुमा खेलकूद संघको आयोजनामा आजदेखि स्व एलटी सिंह सार्की र स्व सुकमाया सार्की मेमोरियल ओपेन गर्ल्स फुटबल टुर्नामेन्ट शुरु भएको छ। खरसाङको डब्ल्युबीएनभीएफ खेल मैदानमा आयोजना भइरहेको यस ओपन गर्ल्स फुटबल टुर्नामेन्टको पहिलो म्याच जेआर 32 खरसाङ र खरसाङ गर्ल्स फुटबल एकेडेमीमाझ सम्पन्न भयो।
यस म्याचमा जेआर 32 को तर्फबाट जर्सी नम्बर 9 शबनम राईको ह्याट्रिकसहित 4 गोलको दममा सजिलै जीत हासिल गऱ्यो। शबनम राईले पहिलो हाफको खेलमा दुई गोल अनि दोस्रो हाफको खेलमा पनि दुई गोल गरेकी थिइन्। त्यसरी नै खरसाङ गर्ल्स फुटबल एकेडेमीको तर्फबाट अन्तिम समयमा एकमात्र गोल जर्सी नम्बर 17 साईनामी खवासले गरिन्।
यस म्याचमा जेआर 32 खरसाङले 4-1 को अन्तरले खेल जितेर सेमिफाइनलमा प्रवेश गरेको छ। अब सेमिफाइनलमा जेआर 32 खरसाङको भिडन्त दार्जिलिङसित हुने भएको छ। दोस्रो खेल मिलनमोड फुटबल एकेडेमी र खरसाङ फुटबल एकेडेमीमाझ सम्पन्न भयो। खेलको शुरुदेखि नै मिलनमोडले गोल गर्न शुरु गरेको थियो।
मिलन मोडको तर्फबाट शुरुमा नै जर्सी नम्बर 14 सुजता टोपोले दुई गोल गरेर बढत दिलाएकी थिइन्। त्यसरी नै मिलनमोडको तर्फबाट जर्सी नम्बर 8 निकिता सोनी, जर्सी नम्बर 9 देविका उराव, जर्सी नम्बर 6 रितु खाल्डोले भटाभट गोल पहिलो हाफमा गोल गरेर स्कोर 5-1 पुऱ्याए। दोस्रो हाफको खेलमा पनि मिलनमोडको तर्फबाट जर्सी नम्बर 16 ले एक गोल गरिन् भने खरसाङ फुटबल एकेडेमीको तर्फबाट जर्सी नम्बर 7 भूमिका राईले एक गोल गरिन।
मिलनमोड फुटबल एकेडेमीले यो खेल 6-1 को अन्तरले सजिलै जितेर सेमिफाइनलमा प्रवेश गरेको छ। अब सेमिफाइनलमा मिलनमोड फुटबल एकेडेमीको भिडन्त देवञ्जन गर्ल्स फुटबल एकेडेमीमाझ हुनेछ। दुवै सेमिफाइनल खेल आगामी 28 सेप्टेम्बरको सम्पन्न हुनेछ। फाइनल खेल पनि उक्त दिन नै सम्पन्न हुने बताइएको छ।
हिन्दुस्थान समाचार / हनोक