कोलकाता, 23 सेप्टेम्बर (हि.स.) । पश्चिम बंगालको बीरभूम जिल्लामा तृणमूल कंग्रेसका एकजना स्थानीय नेताको हतियार तथा कारतूस बेचेको भीडियो भाइरल भएपछि राजनीति तातिएको छ। भीडियो भाइरल हुनसाथ सत्तासिन तृणमूल कंग्रेस विपक्षको लक्ष्य बन्न पुगेको छ।
यो भीडियो बोलपुरको शिमुलिया गाउँको रहेको बताइँदैछ। यसमा तृणमूल नेता डोलोन शेखलाई सार्वजनिक रूपमा गन र कारतूस बेच्दै गरेको देख्न सकिन्छ। उनलाई मोटर साइकलमा बसेर एउटा प्लास्टिकको ब्यागबाट कारतूस निकालेर गन्ती गर्दै ठूलो ब्यागमा भरेर एकजना व्यक्तिलाई दिँदै गरेको देखिएको छ। यो सम्पूर्ण घटनाक्रम दिउँसै भएको हो।
गए सोमवार अबेर साँझ भीडियो भाइरल हुनसाथ भारतीय जनता पार्टी (भाजपा)-ले तृणमूल कंग्रेसमाथि तीव्र हमला गरेको छ। भाजपाको बोलपुर संगठनात्मक जिल्ला अध्यक्ष श्यामपद मण्डलले आरोप लगाए, तृणमूल कंग्रेसले चुनाउ अगावै राज्यमा भय फैलाउने षड़यन्त्र रचिरहेको छ। उनले भने, “डोलोन शेख तृणमूल कंग्रेसका नेता हुन्।
उनले सार्वजनिक रूपमा हतियार र कारतूस बेचिरहेका छन्। तृणमूल कंग्रेसले बालुवा र ढुङ्गा माफियासित मिलेर काम गर्दै आएको छ। अब चुनाउ नजिकिँदैछ, त्यसैले अपराधीहरूलाई हतियार उपलब्ध गराइँदैछ। मानिसहरूलाई भयभित पार्ने प्रयास गरिँदैछ, तर पुलिस प्रशासन मौन छ।”
यस मामिलामा बीरभूमका पुलिस अधीक्षक अमनदीप सिंहले भने, भीडियोको जाँच गरिँदैछ तथा सत्यापित भएपछि अग्रिम कारबाही गरिनेछ। अर्कोतिर तृणमूल कंग्रेसका कुनै पनि नेताले अहिलेसम्म यस घटनालाई लिएर कुनै बयान दिएका छैनन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा