धावक अमर सुब्बाले मलेशियामा युटीएमबीमा भाग लिने
धावक अमर सुब्बाले मलेशियामा युटीएमबीमा भाग लिने


गान्तोक, 23 सेप्टेम्बर (हि.स.)। म्याराथन म्यान अफ् सिक्किम अमर सुब्बाले मलेशियामा आयोजना हुन लागिरहेको 50 किलोमिटर अल्ट्रा-ट्रायल डु मोन्ट-ब्ल्यांक (युटीएमबी) मा भाग लिने भएका छन्। युटीएमबी मलेशियाले आयोजना गरिरहेको यस अल्ट्रा म्याराथन रनलाई विश्वकै सबैभन्दा कठिन दौडहरू मध्ये एक मानिन्छ।

यस प्रतिष्ठित दौडमा धावक सुब्बाले सिक्किम (इण्डिया) लाई प्रतिनिधित्व गर्नेछन्। उनले मुख्यमन्त्री प्रेमसिंह तामाङलाई यस दौडमा भाग लिनका लागि नैतिक एवं वित्तीय समर्थन प्रदान गरेकोमा धन्यवाद दिएका छन्। यसैगरी, उनले मन्त्री भीमहाङ लिम्बू र पर्यटन मन्त्री टीटी भोटियालाई पनि वित्तीय समर्थनको लागि धन्यवाद दिएका छन्।

धावक सुब्बाले वन विभाग, योक्समका आरओ टीडब्ल्यु भोटिया र शुभचिन्तकहरूलाई निरन्तर समर्थन र प्रोत्साहनको लागि धन्यवाद दिएका छन्। जानकारी अनुसार, पुणे (महाराष्ट्र) मा आयोजित 100 माइल दौड र विशाखापटनम (आन्ध्र प्रदेश) मा आयोजित 80 किलोमिटर दौडमा तेस्रो स्थान हासिल गरेवापत युटीएमबीको लागि योग्य भएको बताइएको छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande