खरसाङको स्कट मिशन स्कूलमा विद्यार्थीहरुद्वारा वार्षिक प्रदर्शनी कार्यक्रम सम्पन्न
खरसाङको स्कट मिशन स्कूलमा विद्यार्थीहरुद्वारा वार्षिक प्रदर्शनी कार्यक्रम सम्पन्न


खरसाङ, 23 सेप्टेम्बर (हि.स.)। खरसाङको स्कट मिशन स्कूलमा वार्षिक प्रदर्शनी कार्यक्रम सम्पन्न भएको छ। विद्यार्थीहरुलाई शिक्षाबाहेक पनि आफ्नो बौद्धिक ज्ञान बढाउन तथा शिक्षाको गरिमालाई अझ स्तरीय रुपमा अघि लैजान पहल स्वरूप यो वार्षिक प्रदर्शनी राखिएको बताइएको छ‌। स्कूल परिसरमा आयोजित यस वार्षिक प्रदर्शनीमा विद्यार्थीहरूले आफ्नो रचनात्मकतालाई प्रदर्शित गरे।

विशेष गरेर विद्यार्थीहरुले नेपाली, अंग्रेजी, इतिहास, भूगोल, विज्ञान, गणित, शारीरिक शिक्षा, कर्म शिक्षा लगायत विभिन्न विषयहरुमा प्रदर्शनी गरेका छन्। विद्यार्थीहरुले अतिथिहरूलाई आफ्ना प्रदर्शनीहरूको विषयमा ब्याख्या गरेका थिए‌।

यस वार्षिक प्रदर्शनी विषयमा पत्रकारहरुसित कुराकानी गर्दै स्कट मिशन स्कूलकी सह शिक्षिका दिपशिखा खालिङले स्कूलकी प्रधान अध्यापिकाको अगुवाईमा स्कूलमा वार्षिक प्रदर्शनी आयोजना गरिएको र यस प्रदर्शनीमा अतिथिहरु उपस्थित भएर नानीहरुलाई हौसला प्रदान गरेकोमा स्कूलको तर्फबाट आभार प्रकट गरिन्। विद्यार्थीहरुले विभिन्न विषयमा प्रदर्शनी राखेको र यसबाट विद्यार्थीहरूले व्यवहारिक ज्ञान र धेरै राम्रो अनुभव बटुल्न सकेको बताइन्।

शिक्षिका खालिङले यो प्रदर्शनीले विद्यार्थी नानीहरुको बौद्धिक विकासमा ठूलो सहयोग गर्ने आशा व्यक्त गरिन्। उनले अहिलेको समयमा विद्यार्थी नानीहरुलाई शिक्षासितै यस्तो प्रदर्शनी एकदमै आवश्यक रहेको पनि बताएकी छन्।

त्यसरी नै स्कूलका पूर्व विद्यार्थी एवं कार्यक्रमका एकजना अतिथिले विद्यार्थी नानीहरुले गरेका यस प्रदर्शनीको‌ सराहना गर्दै विद्यार्थीहरुलाई सिकाउने शिक्षिकहरुलाई पनि बधाई दिए। उनले भविष्यमा पनि विद्यार्थीहरुले‌ यसरी नै उन्नति गर्दै जाउन् भनी शुभकामना दिए।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande