खरसाङ, 23 सेप्टेम्बर (हि.स.)। लगातार धरना, जुलूस र गेट मिटिङपछि आज खरसाङको लङ्भ्यू चिया बगानमा श्रमिकहरूले बीस प्रतिशत बोनस पाएका छन्। अब स्टाफहरूको बोनस चॉंडो दिनु पर्ने हिल प्लान्टेसन इम्प्लोइज युनियनले माग गरेको छ।
सरकारले बीस प्रतिशत बोनस दिनु पर्ने एडभाइजरी जारी गरे तापनि लङ्भ्यू चिया बगान मालिकले 10 प्रतिशत मात्र दिने अडान विरुद्ध श्रम आयोगलाई पत्राचार गरिएको थियो। कम्पनीको यस प्रकारको पत्र सार्वजानिक हुन साथ हिल प्लान्टेसन इम्प्लोइज युनियनले धरना, जुलूस र गेट मिटिङ शुरू गऱ्यो र फलस्वरूप कम्पनीले 20 सेप्टेम्बरसम्म 20 प्रतिशत बोनस प्रदान गर्ने नोटिस जारी गरेको दावी गरिएको थियो।
हिल प्लान्टेसन इम्प्लोइज युनियन, लङभ्यू शाखाको अगुवाईमा गेट मिटिङ, धरना, जुलूस, रोड ब्लक जस्ता कार्यक्रमहरू गरेपछि आज सम्पूर्ण चिया श्रमिकहरूले 20 प्रतिशत बोनस पाएको बताइएको छ। अब स्टफहरूको बोनसको लागि प्रबन्धकले झट्ट पहल गर्नु पर्ने शाखा उपाध्यक्ष सजिना योञ्जनले माग गरेकी छन्।
हिन्दुस्थान समाचार / हनोक