खरसाङ, 25 सेप्टेम्बर (हि.स.)। खरसाङ खण्डको घैयाबारी दुई ग्राम पञ्चायत अन्तर्गत तीनधारेमा यसपाली फूलपाति शोभायात्राको साथमा नृत्य प्रतियोगिता आयोजना गरिने भएको छ। फूलपाति शोभायात्रा आयोजक समितिको आयोजनामा फूलपातिको दिन तीनधारेमा बिहान 9 बजीदेखि शंकर निवासको ब्राह्म मन्दिर प्राथमिक पाठशाला परिसरबाट फूलपाति शोभायात्रा शुरु भएर अप्पर गोलाईको ब्ल्यु डाईमण्ड अंग्रेजी स्कूल परिसरसम्म पुगेर फर्केर आएर तीनधारेको क्रिकेट बजारस्थित चिल्ड्रेन पार्कमा आएर समाप्त हुनेछ।
चिल्ड्रेन पार्कमा आएर नृत्य प्रतियोगिता आयोजना गरिने भएको छ। यस फूलपाति शोभायात्रा र नृत्य प्रतियोहितामा घैयाबारी दुई ग्राम पञ्चायत अन्तर्गत संघ संस्थाहरुले सहभागिता जनाउन सक्नेछन्। उक्त अवसरमा घैयाबारी ग्राम पञ्चायत दुई अन्तर्गत पर्ने र सहभागी संघ संस्थाहरुलाई सम्मान पनि जनाइने जानकारी प्राप्त भएको छ।
यस विषयमा पत्रकारहरुसित कुराकानी गर्दै घैयाबारी दुई ग्राम पञ्चायत स्तरीय फूलपाती शोभायात्रा एवं नृत्य प्रतियोगिता कार्यक्रम आयोजक समितिका संयोजक रञ्जित थापाले फूलपाति शोभायात्रा र नृत्य प्रतियोगितामा घैयाबारी ग्राम पञ्चायत अन्तर्गत सबै संघ संस्थाहरुलाई सहभागी बनिदिन अनुरोध गरेका छन्। उनले बिहान 9 बजी शंकर निवासको ब्राह्म मन्दिर प्राथमिक पाठशाला परिसरमा भेला भइदिने अनुरोध गरेका छन्।
उनले फूलपाती शोभायात्रा र नृत्य प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुनेलाई आकर्षक ट्रफीसहित नगदराशि प्रदान गरिने साथै सहभागी संघ संस्थाहरुलाई पनि दुई हजार रुपियाँ गरेर प्रदान गरिने जानकारी गराएका छन्। उनले दशैंको अवसरमा यसै कमिटीको आयोजनामा तीनधारेमा सांगीतिक कार्यक्रम पनि आयोजना गरिने जानकारी गराएका छन्।
हिन्दुस्थान समाचार / हनोक