कोलकाता, 27 सेप्टेम्बर (हि.स.)। पश्चिम बंगालमा दुर्गोत्सव अवधि वर्षा हुने आशंकाबाट चिन्तित श्रद्धालु तथा पण्डाल आयोजकहरूको लागि राहतको खबर आएको छ। अलिपुर मौसम विज्ञान विभागले शनिवार ताजा अपडेट जारी गर्दै बतायो, ओडिशाको गोपलपुर नजिक निर्मित निम्नचाप तन्त्र कमजोर हुँदै गइरहेको छ र छत्तीसगढ़ तर्फ बढ़िरहेको छ। त्यसैले षष्ठीदेखि अष्टमीसम्म दक्षिण बंगालमा भारी वर्षा हुने सम्भावना केही हदसम्म कम भएको छ। यद्यपि हल्का वर्षा हुने सम्भावना यथावत छ।
मौसम विभाग अनुसार दशमीको दिन दक्षिण बंगालका केही जिल्लाहरूमा घना वर्षा हुने प्रबल सम्भावना छ। आगामी 24 घण्टाभित्रमा निम्न चाप अझ कमजोर भए पनि हल्कादेखि मध्यम वर्षा तथा हुरी-बतास आउने सम्भावनालाई अस्वीकार गर्न सकिँदैन। शनिवार अपरान्ह 11:15 बजेपछि पूर्व र पश्चिम मिदनापुर तथा झाड़ग्राम जिल्लाका केही भागहरूमा मेघ गर्जनसितै हल्कादेखि मध्यम वर्षा हुनसक्छ। यस अवधि 30-40 किलोमीटर प्रतिघण्टाको गतिले हावा चल्नसक्छ।
कोलकाताको मौसम पनि पण्डालहरू घुम्नको लागि अपेक्षाकृत अनुकूलै रहनेछ। पञ्चमीको दिन आकाश आंशिक रूपमा बादलले ढाकिरहनेछ। शहरको अधिकतम तापमान 31 डिग्री अनि न्यूनतम तापमान 26 डिग्री सेल्सियस रहने अनुमान छ। पछिल्लो 24 घण्टामा कोलकाताको अधिकतम तापमान 33.2 डिग्री सेल्सियस दर्ता गरियो जुन सामान्यभन्दा 0.7 डिग्री अधिक हो भने न्यूनतम तापमान 26.2 डिग्री सेल्सियस रह्यो जुन सामान्यभन्दा 0.2 डिग्री अधिक हो।
मौसम विभाग अनुसार शनिवार हावामा नमीको स्तर अधिकतम 97 प्रतिसत र न्यूनतम 70 प्रतिशत रेकर्ड गरियो। विशेषज्ञहरूको भनाइ छ, षष्ठीदेखि अष्टमीसम्म वर्षाको तीव्रता घट्नाले दुर्गोत्सवको उल्लास कम हुनेछैन, तर दसमीमा श्रद्धालु तथा आयोजकहरूलाई मौसमदेखि सतर्क रहनुपर्नेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा