करूर, २८ सेप्टेम्बर (हि.स.)।
तमिलनाडुको करूर जिल्लामा तमिलनाडु वेत्री कलागम (टीवीके) पार्टीका नेता जोसेफ विजयको आइतबार भएको र्यालीका क्रममा भएको भगदडमा ३९ जनाको ज्यान गएको छ। मृतकमध्ये ८ बालबालिका र १६ महिला छन्। ५० भन्दा बढी घाइते विभिन्न अस्पतालमा उपचाररत छन्। यस घटनाले पुरै देशलाई स्तब्ध बनाएको छ। राष्ट्रपति र प्रधानमन्त्रीले मृतकप्रति गहिरो शोक व्यक्त गर्दै घाइतेको चाँडो स्वास्थ्यलाभको कामना गरेका छन्।
कसरी भयो घटना
आइतबार बेलुका करिब ७ बजे करूरको वेलुसामीपुरम क्षेत्रमा अभिनेताबाट नेता बनेका तमिलनाडु वेत्री कलागम (टीवीके) पार्टी प्रमुख जोसेफ विजयको “वेलिचम वेलियेरु” नामक चुनावी सभामा भगदड मच्चिँदा ३९ जनाको मृत्यु भयो। ५० भन्दा बढी घाइतेको उपचार भइरहेको छ।
आर्थिक सहयोग र छानबिनको घोषणा
मुख्यमन्त्री एम.के. स्टालिनले मृतकका परिवारलाई १० लाख रुपियाँ र घाइतेलाई १ लाख रुपियाँ सहयोग दिने घोषणा गरेका छन्।
यसैगरी सरकारले घटनाको छानबिनका लागि उच्च अदालतका अवकाशप्राप्त न्यायाधीश अरुणा जगतीशनको नेतृत्वमा एक सदस्यीय समिति गठन गरेको छ।
राष्ट्रपति, प्रधानमन्त्री र विभिन्न दलका नेताको शोक
राष्ट्रपति द्रौपदी मुर्मुले घटनाप्रति गहिरो शोक व्यक्त गर्दै घाइतेको चाँडो स्वास्थ्यलाभको प्रार्थना गरिन्।
प्रधानमन्त्री नरेन्द्र मोदी र विदेश मन्त्री एस. जयशंकरले घटनामा भएको मृत्युमा गहिरो दुःख व्यक्त गर्दै घाइतेको स्वास्थ्यलाभको कामना गरे।
जोसेफ विजयले एक्समा लेख्दै भने, “यो घटनाले मेरो मुटु टुक्रिएको छ, यसले मलाई असह्य पीडा दिएको छ।”
एआईएडीएमके महासचिव एडप्पादी पलानीस्वामीले शोक सन्देश जारी गर्दै भने, “करूरको चुनावी सभामा भएको भगदडमा ३९ भन्दा बढीको मृत्यु र धेरै घाइते हुनु अत्यन्तै दुःखद छ।” पार्टीतर्फबाट पूर्वमन्त्री विजयभास्करलाई अस्पतालमा गएर उपचाररत घाइतेलाई सहयोग गर्न निर्देशन दिइएको छ।
---------------
हिन्दुस्थान समाचार / भवानी थामी