ढाका, २९ सेप्टेम्बर (हि.स.)। बंगलादेश सेनाले राति दाबी गरेको छ कि देशको खगराछारीको गुइमारा उपजिलाको अवस्था नियन्त्रणमा छ। यद्यपि केही क्षेत्रमा अझै तनाब कायम छ। अशान्ति नियन्त्रणका लागि प्रभावित क्षेत्रमा अर्धसैनिक बलको टुकडी परिचालन गरिएको छ। सेनाले हालैका घटनाबारे विस्तृत आधिकारिक वक्तव्य जारी गर्दै यसलाई ‘धार्मिक दंगा षडयन्त्रको परिणाम’ बताएको छ।
ढाका ट्रिब्युनको रिपोर्टअनुसार, सेनाले भनेको छ, खगराछारीको गुइमारा उपजिलामा शनिबार र आइतबार भएको हिंसा पूर्वनियोजित षडयन्त्रको हिस्सा हो। १९ सेप्टेम्बरमा मोटरसाइकल चालक मामुनको हत्या भएपछि तनाब बढ्न थालेको थियो। त्यसपछि, युनाइटेड पिपुल्स डेमोक्रेटिक फ्रन्ट (युपीडीएफ) र यसको सहयोगी संगठनहरूले दिघिनाला र रंगमतीमा साम्प्रदायिक अशान्ति भड्काउने प्रयास गरेको दाबी गरिएको छ। यस क्रममा सुरक्षाबलसँग झडप भयो जसमा तीन जनाको मृत्यु भयो र धेरै स्थानीय घाइते भए।
इण्टर–सर्भिस पब्लिक रिलेसन्स (आईएसपीआर) का अनुसार, घटनाको विरोधमा युपीडीएफ र यसको सहयोगीहरूले चटगाँव पहाडी क्षेत्रमा विभिन्न स्थानमा विरोध र्याली गरेका थिए। २३ सेप्टेम्बर राति खगराछारीको सिङ्गिनाला क्षेत्रमा एक छात्रामाथि बलात्कार भयो। त्यस घटनामा संलग्न भनिएका शायन शिललाई २४ सेप्टेम्बरमा सेनाको सहयोगमा पक्राउ गरिएको थियो। त्यसपछि युपीडीएफसँग सम्बन्धित पीसीपी नेता उखानु मर्माले “जुम्मा छात्र जनता” को ब्यानरमा मानव श्रृंखला बनाउन आह्वान गरे। २५ सेप्टेम्बरमा जिल्लामा आधा दिनको हडताल पनि भयो। सामाजिक सञ्जालमार्फत बंगाली समुदायलाई लक्षित गर्दै उत्तेजक वक्तव्यहरू फैलाइएका थिए।
सेनाका अनुसार, २६ सेप्टेम्बरमा खगराछारीमा तनाब फेरि बढ्यो। नाकाबन्दीको समयमा प्रदर्शनकारीहरूले गस्ती गरिरहेका सैनिकमाथि ढुंगा र इँटा प्रहार गर्दा तीन सैनिक घाइते भए। उक्साहट हुँदाहुँदै पनि सेनाले बल प्रयोग गरेन। शनिबार युपीडीएफ र यससँग सम्बन्धित समूहहरूले पुनः तोडफोड गर्दै अशान्ति मच्चाएको सेनाले आरोप लगाएको छ। यसरी अशान्तिले सम्पूर्ण खगराछारी नगरपालिका क्षेत्रमा कानून–व्यवस्थाको अवस्था बिगार्यो र साम्प्रदायिक दंगाको रूप लियो। त्यसपछि जिल्ला प्रशासनले खगराछारी र गुइमारामा धारा १४४ लागू गर्यो। तर आइतबार जनसमूहले धारा १४४ उल्लंघन गरे।
करिब बिहान १०:३० बजे युपीडीएफ कार्यकर्ता र स्थानीय बंगाली बासिन्दाबीच झडप भयो। सेनाले हस्तक्षेप गर्दा उनीहरूलाई हतियार, इँटा र डण्ठाले आक्रमण गरियो जसमा तीन अधिकारीसहित १० सैनिक घाइते भए। रामगढ़ क्षेत्रमा सरकारी सवारी साधनमा पनि तोडफोड भयो। करिब ११:३० बजे युपीडिएफ (मुख्य) का सदस्यहरूले गोली चलाएको बताइएको छ। रामसु बजारको पश्चिमतिर डाँडाको टुप्पाबाट स्वचालित हतियारले करिब १००–१५० राउन्ड गोली प्रहार गरिएको सेनाले दाबी गरेको छ। सेनाको गस्ती टोलीले सशस्त्र आक्रमणकारीलाई पछ्याउँदा युपीडीएफ कार्यकर्ताले रामसु बजार क्षेत्रमा घरहरूमा आगजनी गरेको बताएको छ। त्यसपछि रामसु बजार र गुइमारा क्षेत्रमा थप सैनिक परिचालन गरियो। बेलुकी करिब ४:३० बजे अवस्था नियन्त्रणमा आएको थियो।
द डेली स्टारको रिपोर्टअनुसार, अधिकार, सांस्कृतिक र राजनीतिक समूहहरूले खगराछारीमा भएको हिंसा र मृत्यु घटनाको तत्काल छानबिनको माग गरेका छन्। ट्रान्सपेरेन्सी इन्टरनेशनल बंगलादेश (टीआईबी) ले प्रश्न उठाउँदै भनेको छ, एक छात्रामाथि भएको क्रूर बलात्कारपछि न्याय माग्नु अपराध होइन। संस्थाले व्यापक न्यायिक छानबिन र दोषीलाई कडा सजायको माग गरेको छ। गुइमारा उपजिलामा छात्रामाथि भएको बलात्कारको विरोधमा भएको प्रदर्शनका क्रममा कम्तीमा तीन जनाको गोली हानी हत्या भएको थियो।
हिन्दुस्थान समाचार / भवानी थामी