खरसाङ, 29सेप्टेम्बर (हि.स.)। गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको सूचना अनि सांस्कृतिक विभाग र खरसाङ नगरपालिकाको संयुक्त आयोजनामा खरसाङमा आज भव्य फूलपाती शोभायात्रा निकालियो। उक्त फूलपाती शोभायात्रा खरसाङको रेलवे स्टेशन परिसरबाट शुरु भएर हिल कार्ट रोड हुँदै अस्पताल मोड भएर वर्द्धमान रोड अनि मोटर स्ट्याण्ड हुँदै सुपर मार्केटस्थित सार्वजनिक भवनमा पुगेर समाप्त भयो।
यस अवसरमा खरसाङ क्षेत्रका विभिन्न संघ संस्थाहरुद्वारा विभिन्न सांस्कृतिक झाँकीहरुका साथमा नौमति बाजाको धुनसहित लाखे नृत्यसितै फुलपाती शोभायात्रा निकालिएको थियो। यसपाली खरसाङमा आयोजित फूलपाती शोभायात्राको मुख्य आकर्षणहरुमा विभिन्न सांस्कृतिक झाँकीहरु साथै नौमति बाजाको धुन, लाखे नृत्य र मार हान्न गएका व्यक्तिको ठूलो खुकुरीसहितको दृश्य र विभिन्न संघ संस्थाहरुका सांस्कृतिक नृत्य, मारुनी नृत्य, खुकुरी नृत्य आदि रहेको थियो।
खरसाङमा आयोजित फूलपाती शोभायात्राको अवसरमा गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनका प्रमुख कार्यपाल अनित थापा, पूर्व सांसद शान्ता छेत्री, खरसाङ नगरपालिकाका चेयरम्यान ब्रिगेन गुरुङ, भाइस चेयरम्यान सुवास प्रधान, सभासद श्याम शेर्पा, सभासद प्रणाम रसाइली, खरसाङ खण्ड पञ्चायत समितिकी सभापति अनु छेत्री, खरसाङ महकुमा शासक आईएएस बिन्दबासिनी तेजा दिपक, खरसाङ नगरपालिकाका कार्यकारी अधिकारी कैलाश प्रसाद लगायत विभिन्न संघ संस्थाहरुका प्रतिनिधिहरु उपस्थित रहेका थिए।
फूलपाती शोभायात्रा विषयमा आयोजक समितिका सचिव एवं खरसाङ नगरपालिकाका भाइस चेयरम्यान सुवास प्रधानले आज खरसाङमा विभिन्न जात गोष्ठीहरु एकै मञ्चमा आएर फूलपाती शोभायात्रा आयोजना गरिएको बताए। उनले यो शोभायात्रा जीटीएको सूचना अनि सांस्कृतिक विभाग र खरसाङ नगरपालिकाको संयुक्त आयोजनामा आयोजना गरिएको बताए। उनले यसपाली खरसाङ क्षेत्रका विभिन्न संघ संस्थाहरुका प्रतिनिधिहरुले भाग लिएको र यसपालीको मुख्य आकर्षणको रुपमा नौमति बाजाको धुनसहित लाखे नृत्य, मारुनी नृत्य, खुकुरी नृत्य, विभिन्न जात गोष्ठीका झाँकीहरु रहेको बताए। खरसाङमा आयोजित फूलपाती शोभायात्राले जातीय संस्कृति र परम्परालाई जगेरा गरेको बताउॅंदै फूलपाती शोभायात्रामा सहभागी सबैलाई धन्यवाद दिएका छन्।
---------------
हिन्दुस्थान समाचार / हनोक