मुख्यमन्त्री तामाङले बडादशैंको राज्यवासीहरूलाई हार्दिक बधाई एवं शुभकामना दिए
ps tamang


गान्तोक, 29 सेप्टेम्बर (हि.स.)। मुख्यमन्त्री प्रेमसिंह तामाङले दुर्गा पूजा अर्थात् बडादशैंको अवसरमा राज्यका जनतालाई हार्दिक शुभकामना र मंगलकामना व्यक्त गर्दै यस दिव्य पर्वले प्रत्येक घर र प्रत्येक हृदयमा शान्ति, समृद्धि र खुशी ल्याओस् भनी कामना गरेका छन्।

मुख्यमन्त्रीले सोमवार जारी आफ्नो शुभकामा सन्देशमा भने, दुर्गा पूजा सत्यको असत्यमाथि, उज्यालोको अन्धकारमाथि, र सद्गुणको दुर्गुणमाथि विजयको उत्सव हो। यो पर्व शक्तिको शक्तिशाली मूर्तरूप देवी दुर्गाको आराधनामा समर्पित हुन्छिन्। उनी ब्रह्माण्डलाई धान्ने र पोषण गर्ने दिव्य नारीशक्तिको प्रतीक हुन्। उनी साहस, धैर्य र धर्मको अटल आत्माको प्रतिनिधित्व गर्छिन्। यही नारी शक्ति—महिलाहरूको सामर्थ्य र गतिशीलता—हामीले प्रत्येक क्षेत्रमा स्वीकार, सम्मान र सशक्त बनाउनुपर्नेछ।

मुख्यमन्त्रीले भने, यो शुभ अवसरले हामीलाई केवल उत्सव मनाउने मात्र नभई हाम्रो मूल्य, दायित्व र साझा आकांक्षामा आत्मचिन्तन गर्ने अवसर पनि प्रदान गर्दछ। यस क्षणलाई हामीले हाम्रो राज्य र राष्ट्रको प्रगति र विकासमा पुनः समर्पित गर्नुपर्छ। दुर्गा पूजाको भावनाले हाम्रो समाजको नैतिक धरातललाई सबल बनाओस्, समरसता कायम गरोस्, र सिक्किमको सामाजिक-सांस्कृतिक जीवनलाई परिभाषित गर्ने भ्रातृत्व र एकताको सम्बन्धलाई अझ गहिरो बनाओस्।

उनले अझ भने, साथै हामी सबैले महिला सम्मान, गरिमा र अवसरलाई सुनिश्चित गर्ने समाज निर्माण गर्ने संकल्प गर्नुपर्छ। साँच्चिकै प्रगतिशील समाज त्यो हो जहाँ हरेक व्यक्ति—लिङ्गको भिन्नता नभई—बराबरी योगदान दिन सक्षम हुन्छ। हामीले न्याय, समानता र करुणामा आधारित समुदायलाई पोषण गर्ने प्रतिबद्धता जनाउनुपर्छ।

मुख्यमन्त्रीले यस दुर्गा पूजाले हामी सबैमा नयाँ आशा, सामूहिक शक्ति र प्रचुर आनन्द ल्याओस् र हाम्रो संस्कृतिले हाम्रो प्रगतिलाई समृद्ध बनाओस् र हाम्रो एकताले हाम्रो शक्ति परिभाषित गरोस् भनी कामना गरेका छन्।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande