तीनधारेमा फूलपाती शोभायात्रा अनि नृत्य प्रतियोगिता सम्पन्न
Tindharay shovayatra


तीनधारे, 29सेप्टेम्बर (हि.स.)। घैयाबारी ग्राम पञ्चायत दुई तीनधारे स्तरीय फूलपाती शोभायात्रा एवं नृत्य प्रतियोगिता सोमबार सम्पन्न भयो।‌ फूलपाती शोभायात्रा समारोह समितिको आयोजनामा सम्पन्न फूलपाती शोभायात्रा तीनधारेको शंकर निवासस्थित ब्रह्म मन्दिर प्राथमिक पाठशाला परिसरबाट शुरु भएर तीनधारे बजार हुँदै राष्ट्रिय राजमार्ग 110 भएर बीस माइलसम्म पुगेर फर्केर आई तीनधारेको क्रिकेट बजारस्थित चिल्ड्रेन पार्कमा आएर समाप्त भयो।

यस अवसरमा चिल्ड्रेन पार्कमा नृत्य प्रतियोगिता सम्पन्न गरियो। यस कार्यक्रमको अध्यक्षता घैयाबारी ग्राम पञ्चायत दुईका उप प्रधान रञ्जित थापाले गरेका थिए भने प्रमुख अतिथिको रुपमा क्षेत्रीय सभासद नवराज छेत्री उपस्थित रहेका थिए। त्यसरी नै विशिष्ट अतिथिको रुपमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा तीनधारे महानदी समष्टिका सभापति राजीव थापा, घैयाबारी ग्राम पञ्चायत दुईको पञ्चायत प्रधान भगवती प्रधान, साहित्य कला संस्थान् तीनधारेको सभापति रञ्जनकुमार रसाइली लगायत विभिन्न संघ संस्थाहरुका प्रतिनिधिहरु उपस्थित रहेका थिए।

उक्त नृत्य प्रतियोगितामा निर्णायकको रुपमा अरुणा सुन्दास, अनुपमा घतानी र अनामिका थापा उपस्थित रहेका थिए। यस नृत्य प्रतियोगितामा घैयाबारी ग्राम पञ्चायत दुईभित्र रहेका दशवटा संघ संस्थाहरुले सहभागिता जनाएका थिए।‌ यस नृत्य प्रतियोगितामा प्रथम नवराज संघ गैरी गाउँ, दोस्रो ग्राम कल्याण समिति नयाँ कमान र तेस्रो जनसेवा संघ राजबारी भएका छन्।

यस नृत्य प्रतियोगितामा प्रथम हुनेलाई आकर्षक ट्रफीसहित 10 हजार, दोस्रोलाई ट्रफीसहित 7 हजार र तेस्रो हुनेलाई ट्रफीसहित 5 हजार रुपियाँ प्रदान गरिएको छ। त्यसरी सहभागी सबैलाई शान्तावाना पुरस्कार प्रदान गरिएको छ। यसै कार्यक्रममा तीनधारेका कवि साहित्यकार, पत्रकार, उदघोषक एवं शिक्षक युवराज सुन्दासलाई आयोजक समितिको तर्फबाट सम्बर्ध्दना जनाइयो। यसका साथै घैयाबारी ग्राम पञ्चायत दुईमा रहेका 10 वटा संघ संस्थाहरुलाई पनि सम्मान जनाइयो।

यस कार्यक्रम विषयमा पत्रकारहरुसित कुराकानी गर्दै आयोजक समितिको संयोजक रञ्जित थापाले घैयाबारी ग्राम पञ्चायत दुई तीनधारे स्तरीय फूलपाती शोभायात्रामा यस क्षेत्रको 10 वटा संघ संस्थाहरुले सहभागिता जनाएको बताउँदै सहभागी सबैलाई धन्यवाद दिएका छन्।

---------------

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande