गेजिङ, 29 सेप्टेम्बर (हि.स.)। गेजिङमा फूलपाती शोभायात्रा समारोह समितिको आयोजनामा भव्य रूपमा दशैँ महोत्सव सम्पन्न भएको छ। बिहान गेजिङ बजारबाट प्रारम्भ शोभायात्रामा राज्य सरकारका भवन तथा आवास विभागका मन्त्री तथा याङथाङ निर्वाचन क्षेत्रका विधायक भिमहाङ सुब्बाले सहभागिता जनाए। शोभायात्रा बजार परिक्रमा गर्दै दुर्गा मन्दिरसम्म पुगेको थियो। मन्त्री सुब्बाले राज्यको सुख, शान्ति र समृद्धिका लागि मन्दिरमा पूजाअर्चना गरे।
पछि, गेजिङस्थित सामुदायिक भवनमा आयोजित मुख्य कार्यक्रममा देन्तामका महकुमा अधिकारी एनके कार्की प्रमुख अतिथि उपस्थित थिए। आफ्नो सम्बोधनमा कार्कीले संस्कृति र परम्पराको संरक्षणका लागि समितिले गरेको प्रयासको सराहना गरे। लोप हुने अवस्थामा पुगेको संस्कृति-परम्पराप्रति चिन्ता व्यक्त गर्दै उनले यसको संरक्षण सबैको साझा जिम्मेवारी भएको बताए।
यस्ता कार्यक्रमहरू सकारात्मक सुरुआत भएको मन्तव्य गर्दै यसलाई निरन्तरता दिनुपर्ने उनले सुझाउ दिए। कार्यक्रममा अभिनन्दित व्यक्तित्वहरूलाई बधाई दिँदै उनीहरूबाट सबैले प्रेरणा लिनुपर्ने कुरामा जोड दिए। उनले उपस्थित सम्पूर्णलाई बढा दशैँको अवसरमा मङ्गलमय शुभ कामना पनि व्यक्त गरे।
यसअघि, स्वागत सम्बोधन राख्दै आयोजक समितिका महासचिव बेनु प्रधानले कार्यक्रमबारे विस्तृत जानकारी गराएका थिए। कार्यक्रममा विभिन्न क्षेत्रमा विशेष योगदान पुर्याएका व्यक्तित्वहरूलाई समितिको तर्फबाट अभिनन्दन जनाइएको थियो। साथै, सांस्कृतिक तथा पारम्परिक गौरव झल्काउने विविध प्रस्तुतिहरू पनि समारोहको आकर्षण बनेका थिए। कार्यक्रममा कलाकारहरूले नृत्य प्रस्तुत गरे भने फेसन-शो अनि कवितावाचन पनि गरिएको थियो।
प्रस्तुति दिने सहभागीहरूलाई समितिको तर्फबाट स्मृति चिह्न प्रदान गरियो। कोषाध्यक्ष अशोक प्रधानले धन्यवाद ज्ञापन गरेपछि कार्यक्रम समापन भएको थियो। समारोहमा गेजिङ ओम्चुङ प्रादेशिक क्षेत्रका जिल्ला पञ्चायत सागर शर्मा, संस्कृति प्रकोष्ठका राज्य स्तरीय संयोजक मनोज लामा, गेजिङ नगर पञ्चायतका पूर्व अध्यक्ष आईके न्यौपाने, आयोजक समितिका अध्यक्ष दिपेशचन्द्र भण्डारी लगायत विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको जानकारी डीआईओ गेजिङले गराएको छ।
हिन्दुस्थान समाचार / बिशाल