नाम्ची, 29 सेप्टेम्बर (हि.स.)। राङगाङ याङगाङ निर्वाचन क्षेत्रको माङजिङ जीपीयू अन्तर्गत नियामा आइतवार सिक्किम गरीब आवास योजना (एसजीएवाई) अन्तर्गत नवनिर्मित घर उद्घाटन गरियो। घरको उद्घाटन क्षेत्र विधायक एवं सिक्किम विधानसभाकी उपाध्यक्ष राजकुमारी थापाको बाहुलीद्वारा गरियो। उद्घाटनपछि घरको चाबी लाभार्थी बिर्ख बहादुर तामाङलाई हस्तान्तरण गरियो।
कार्यक्रममा सीएलसी अध्यक्ष टी. नाम्का, विधानसभा उपाध्यक्षकी ओएसडी डेन्किला भोटिया, याङगाङका बीडीओ नीडे भोटिया, जिल्ला पञ्चायत केडी काफ्ले, पञ्चायत नाथ खनाल आदि उपस्थित थिए।
सिक्किम गरीब आवास योजना सिक्किम सरकारको एक प्रमुख आवास योजना हो, जसको उद्देश्य आर्थिक रूपमा कमजोर परिवारहरूलाई बैठक कोठा, भान्छा, शौचालय र पानी आपूर्ति जस्ता आवश्यक सुविधाहरू सहितको पक्की घरहरू प्रदान गर्नु हो। यो योजना ग्रामीण घरपरिवारको उत्थान, सुरक्षित र सम्मानजनक जीवनयापन सुनिश्चित गर्न र सबैका लागि आवासको लक्ष्य प्राप्त गर्न परिकल्पना गरिएको छ।
हिन्दुस्थान समाचार / बिशाल