खरसाङ, 03 सेप्टेम्बर (हि.स.)। भारतीय प्रजातान्त्रिक मोर्चा सिंगेल शाखाले गोर्खाल्याड क्षेत्रीय प्रशासनको स्वास्थ्य एवं परिवार कल्याण विभागका एमओडी सभासद श्याम शेर्पासित भेट गरेर खरसाङ हस्पिटलमा मृगौला रोग उपचारको लागि डायलिसिस उपकरण जडान गरिदिन माग राखेको छ। विगत धेरै सालदेखि जनसाधारणले भोग्न परिरहेको पीडालाई ध्यानमा राख्दै ज्ञापन पत्र चढाएको सन्तोष मोक्तानले बताएका छन्।
उनले बताए अनुसार, मानिसहरू हप्तामा दुई पल्टसम्म सिलगढी गएर उपचार गर्नु पर्दा धेरै असुविधा भोग्न परिरहेको छ। दाजिलिङ लगायत अन्य ठाउँहरूमा सरकारी सुविधा भए तापनि खरसाङको जन साधारणले धेरै समस्या भोग्न परिरहेको छ। यसकारण खरसाङ अस्पतालमा पनि उपचारको निम्ति डायलिसिस उपकरण जडान गर्न सके मानिसहरूलाई धेरै सुविधा हुने उनको भनाई छ।
विशेष सभासद श्याम शेर्पालाई भेट्न सन्तोष मोक्तानको साथमा मिलन शर्मा, शरणकुमार लामा र मिलन घले पनि गएका थिए। सभासद श्याम शेर्पाले उक्त मागलाई सकारात्मक रूपमा लिॅंदै चॉंडै यो माग जीटीए प्रमुख अनि कार्यकरणी सभामा राख्ने आश्वासन दिएको मोक्तानले बताएका छन्।
हिन्दुस्थान समाचार / हनोक