मङ्गन, 03 सेप्टेम्बर (हि.स.)। मङ्गन जिल्लाअन्तर्गत जिल्ला प्रशासनिक केन्द्रमा आज जिल्लास्तरीय एनसीओआरडी समितिद्वारा लागुऔषध दुरुपयोग तथा अवैध कारोबार नियन्त्रणसम्बन्धी छलफल बैठक सम्पन्न भयो। उक्त बैठकको अध्यक्षता मङ्गन जिल्लाका अतिरिक्त जिल्लापाल पेमावाङ्छेन नामकार्पाले गरेको थियो।
कार्यक्रममा मङ्गनका पुलिस अधीक्षक सोनामदेच्छु भोटिया, अतिरिक्त पुलिस अधीक्षक मणिकुमार तामाङ, मङ्गन महकुमा अधिकारी सन्दीपकुमार, प्रमुख जिल्ला स्वास्थ्य अधिकारी डा. टेम्पो टी. कालिओन तथा एनसीओआरडी समितिका अन्य सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको जानकारी डीआईओ मङ्गनले दिएको छ।
बैठकमा मङ्गन जिल्लाका अतिरिक्त जिल्लापाल पेमावाङ्छेन नामकार्पाले उपस्थित बैठकलाई सम्बोन्धन गर्दै मङ्गन जिल्लाका सम्पूर्ण विभागलाई निर्धारित गतिविधिहरू प्रस्तुत गर्दै राज्य सरकारले लागुऔषध दुरुपयोग तथा अवैध कारोबार नियन्त्रणका लागि आवश्यक पहलबारे जानकारी गराए। यसअतिरिक्त उनले सम्बन्धित सम्पूर्ण विभाग र राज्यका छवटै जिल्लाका जिल्लापालहरूलाई अवैध कारोबार नियन्त्रणका उपायहरू अपनाउन निर्देशन जारी गरेको पनि जानकारी गराए। यसका साथै नामकर्पाले सम्बन्धित समिति तथा अन्य सरोकारवालाबाट अपेक्षित कार्य योजनामाथि विस्तृत छलफल गर्दै सरकारी कर्मचारीहरूबिच लागुऔषध दुरुपयोगसम्बन्धी कडा निरीक्षण गर्नु पर्ने आवश्यकतामाथि पनि जोड दिए।
यसरी नै मङ्गन, पुलिस अधीक्षक सोनाम देच्छु भोटियाले आजदेखि मङ्गन पुलिसद्वारा सुरु गरेका नवीन पहलबारे जानकारी गराउँदै ‘च्यारिटी बिगिन्स एट् होम्’ नामक प्रचलित भनाइसँगै मङ्गन जिल्ला पुलिस कार्यालयले मङ्गन जिल्ला अस्पतालको सहयोगमा पुलिस कर्मचारीहरूबिच लागुऔषध दुरुपयोगसम्बन्धी पत्ता लगाउन आकस्मिक स्वास्थ्य जाँच सुरु गरेको बताए। उनले यसलाई नियन्त्रणमुखी पहलका रूपमा अगाडि बढेको र आवश्यक परे सम्बन्धित पुलिस कर्मचारीलाई उपचार तथा सुधारात्मक सुविधा उपलब्ध गराइने पनि जानकारी दिए।
यसैगरी समतिको बैठक सुरु हुनअघि अतिरिक्त जिल्लापाल नामकर्पाले १८ वर्षभन्दा कम उमेर भएका बालबालिकाहरूमाथि लागुऔषध दुरुपयोग तथा अवैध कारोबार नियन्त्रणसम्बन्धी संयुक्त कार्य समिति (जेएसी) बैठकको पनि अध्यक्षता गरेको थियो। यस अवसरमा मङ्गन जिल्ला बाल सुरक्षा अधिकारी (डीसीपीओ) वेन्डी एम. लेप्चाले समितिको भूमिका र उद्देश्यबारे जानकारी गराउँदै भारत सरकारको निर्धारित मापदण्डअनुसार समितिले सुरु गरेको पहलमाथि प्रकाश पारिन्।
उनले संयुक्त कार्य समितिद्वारा आयोजना गरिएको बैठकको मुख्य उद्देश्य १८ वर्षभन्दा कम उमेर भएका बालबालिकामा लागुऔषधी दुरुपयोगसम्बन्धी मामिला दर्ता भएको घटनाहरूलाई सम्बोधन गर्दै सम्बन्धित सरोकारवालाबिच सहकार्य तथा समन्वय कार्य अगाडि बढाउन महत्त्वपूर्ण रहेको बताइन्। उनले विशेषगरी सबै शैक्षिक संस्थानहरूलाई लागुऔषध दुरुपयोगमुक्त बनाउन सुरु गरेका महत्त्वपूर्ण पहलहरूबारे पनि जानकारी गराउँदै आगामी योजनाबारे छलफल गरियो।
बैठकमा उपस्थित अधिकारीहरूले जिल्ला बाल सुरक्षा अधिकारीद्वारा प्रस्तुत बुँदाहरूलाई थप पुष्टि गर्दै, बालबालिकामा लागुऔषध दुरुपयोग नियन्त्रणका लागि अझ सशक्त समन्वयका प्रतिवद्धतालाई जनाए।
हिन्दुस्थान समाचार / बिशाल