गान्तोक, 04 सेप्टेम्बर (हि.स)। भारतीय जनता पार्टी (भाजपा) सिक्किमले नयाँ जीएसटी प्रस्तावलाई हार्दिक स्वागत गरेको छ, जुन प्रधानमन्त्री नरेन्द्र मोदीले स्वतन्त्रता दिवसको आफ्नो सम्बोधनमा घोषणा गरेका थिए।
वित्त मन्त्री निर्मला सीतारमणको नेतृत्वमा 56औं जीएसटी परिषद्ले हिजो ऐतिहासिक सुधारको घोषणा गर्यो, जसमा 5% र 18% को सरलीकृत कर स्ल्याब, विलासिता र अहितकर वस्तुहरूको लागि 40% स्ल्याब र धेरै आवश्यक वस्तुहरूमा जीएसटीको छुट समावेश छन्। यस छुटले आर्थिक वृद्धिलाई बढावा दिँदै विपन्न, किसान र लघु उद्यमीहरूमाथिको वित्तीय भार उल्लेखनीय रूपमा कम गर्दछ।
प्रदेश भाजपा अध्यक्ष डीआर थापाले अत्यावश्यक वस्तुहरूमा जीएसटी छुटले दैनिक उपभोग्य वस्तुहरूको किफायती उपलब्धता सुनिश्चित गरी सीमान्तकृत समुदायको जीवनस्तरमा प्रत्यक्ष सुधार ल्याउने बताएका छन्। उनले सरलीकृत कर संरचनाले अनुपालन लागत घटाएर र व्यवसाय गर्न सजिलो बनाउॅंदै ग्रामीण अर्थतन्त्रको मेरुदण्ड, साना व्यवसायहरू र एमएसएमईहरूलाई अझ सशक्त बनाउने आज प्रेस बयानमा बताएका छन्। उनले भने, यो सुधारले साँच्चै 'सबका साथ, सबका विकास' को नीतिलाई प्रतिबिम्बित गर्दछ, जसले गरिब वर्गको कल्याणलाई प्राथमिकता दिन्छ।
प्रदेश अध्यक्ष थापाले राष्ट्रलाई यो 'दिवाली उपहार' प्रदान गर्न दूरदर्शी नेतृत्वको लागि प्रधानमन्त्री नरेन्द्र मोदीप्रति गहिरो आभार व्यक्त गरेका छन्। यसैगरी, उनले जीएसटी परिषद्लाई समतामूलक, व्यवसाय-मैत्री कर ढाँचातर्फ डोऱ्याउन गरेको दृढ प्रयासको लागि केन्द्रिय वित्तमन्त्री निर्मला सीतारमणलाई पनि हार्दिक धन्यवाद दिएका छन्।
उनले भाजपा सिक्किम एकाइ यस सुधारलाई समर्थन गर्न, यसको फाइदा सिक्किमको हरेक कुनामा पुग्ने सुनिश्चित गर्न, राज्यका युवाहरूका लागि अवसरहरू सिर्जना गर्न र समृद्ध, आत्मनिर्भर भारतको लागि विकसित भारत 2047 सँग जोडिन प्रतिबद्धता व्यक्त गरेका छन्।
हिन्दुस्थान समाचार / बिशाल