- सीएपी अध्यक्षले पार्टी सत्तामा पुगेपछि 'ड्राइभर एट्रोसिटी एक्ट' ल्याउने घोषणा गरे
गान्तोक, 04 सेप्टेम्बर (हि.स.)। सिटिजन एक्शन पार्टी (सीएपी) अन्तर्गत गठन गरिएको चालक परिषदको राज्यस्तरीय समन्वय सभा बिहिवार मल्लीमा सम्पन्न भयो। कार्यक्रम पार्टी अध्यक्ष गणेश कुमार राईको अध्यक्षतामा सम्पन्न भएको जानकारी आज जारी एक प्रेस विज्ञप्तिमा उल्लेख छ।
अध्यक्ष गणेश कुमार राईले आफ्नो सम्बोधनमा चालक समुदायको सम्मान र योगदानलाई मान्यता दिने दिन सिटिजन एक्शन पार्टीको सरकार बनेपछि आउने स्पष्ट संकेत गरे। उनले पार्टी सत्तामा पुगेपछि 'ड्राइभर एट्रोसिटी एक्ट' जस्तो विशेष सुरक्षा कानुन ल्याइने घोषणा गरे। अध्यक्ष राईले सत्तारूढ दलका नेताहरूको दिशाविहीन शासनको आलोचना गर्दै भने, 'हामी सत्तामा नरहे पनि सिटिजन एक्शन पार्टीसँग सिक्किमका लागि स्पष्ट मार्गचित्र छ।
यस अघि, सभामा बोल्दै सीएपी प्रवक्ता अल्बर्ट गुरुङले सत्तारूढ दल र उनका नेताहरुले सिटिजन एक्शन पार्टी तथा अध्यक्ष गणेश राईविरुद्ध गरिरहेको निरन्तर टिप्पणीको आलोचना गरे। उनले सरकारलाई आम नागरिक, विशेष श्रमजीवी चालक समुदायमाथि अनावश्यक करको भार लादेर जीवन कष्टकर बनाएको आरोप लगाए।
संगठन महासचिव प्रकाश पराजुलीले सरकारको घोषणापत्र र व्यवहारबीच गम्भीर असंगति रहेको उल्लेख गर्दै 'चालकहरूलाई प्रताडित गरेर आर्थिक संकटकाल व्यवस्थापन गरिँदैछ' भन्ने गम्भीर आरोप लगाए।
अखिल सिक्किम चालक परिषद्का अध्यक्ष आशिष राईले सडकको अत्यन्तै दयनीय अवस्थाका कारण पर्यटकहरू अन्य राज्यतर्फ मोडिएको र यसको प्रत्यक्ष असर चालकहरूको आम्दानीमा परेको बताए। साथै उनले सरकारको नीति श्रमजीवी वर्गविरोधी रहेको बताउँदै 45 हजारसम्म स्कुटर फाइन गर्ने सरकार श्रमिकको पक्षमा काम गर्न सक्छ भने देखाओस् भनी चुनौती दिए।
कार्यक्रममा उपाध्यक्ष प्रभारी बिनोद गुरुङले सरकारद्वारा सार्वजनिक जग्गा निजी कम्पनीलाई बेचेर मल बनाउने निर्णयको आलोचना गर्दै त्यस्ता ठाउँमा ट्याक्सी स्ट्यान्ड निर्माण गर्नुपर्नेमा जोड दिए।
सभामा विभिन्न पार्टी परित्याग गरेका 20 परिवार सिटिजन एक्शन पार्टीमा आधिकारिक रूपमा प्रवेश गरेको दाबी गरिएको छ।
हिन्दुस्थान समाचार / बिशाल