नयॉं दिल्ली, 04 सेप्टेम्बर (हि.स)। जीएसटी परिषद्ले वस्तु तथा सेवा कर (जीएसटी) प्रणालीमा व्यापक परिवर्तनलाई अनुमोदन गरेको छ। यस अन्तर्गत जीएसटीमा पाँच र 18 प्रतिशतको दुई-स्तरीय कर संरचनालाई अनुमोदन गरिएको छ। जीएसटी दरमा व्यापक परिवर्तनका कारण साना कार र मोटरसाइकल सस्तो हुनेछन्। नयाँ दरहरू 22 सेप्टेम्बर अर्थात् नवरात्रिको पहिलो दिनदेखि लागू हुनेछन्।
केन्द्रिय वित्तमन्त्री निर्मला सीतारमणले जीएसटी परिषद्को 56औं बैठकपछि यहाँ आयोजित पत्रकार सम्मेलनमा यो जानकारी दिइन्। वित्त मन्त्रालय अन्तर्गतको राजस्व विभागका सचिव अरविन्द श्रीवास्तवले जीएसटी दरमा संशोधन अन्तर्गत 1200 सीसी भन्दा कम र 4000 मिमी भन्दा कम लम्बाइका पेट्रोल, एलपीजी र सीएनजी सवारी साधनहरू र 1500 सीसी र 4000 मिमी सम्म लम्बाइका डिजेल सवारी साधनहरूमा हालको 28 प्रतिशतको सट्टा 18 प्रतिशत कर लगाइने बताए। साथै, 350 सीसी सम्मका मोटरसाइकलहरूमा 18 प्रतिशतको दरले जीएसटी लगाइनेछ, जबकि हाल यो 28 प्रतिशत छ।
उनले भने, 1200 सीसी भन्दा माथि र 4000 मिमी भन्दा लामा सबै सवारी साधनहरू र 350 सीसी भन्दा माथिका मोटरसाइकल र रेसिङ कारहरूमा 40 प्रतिशतको दरले जीएसटी लगाइनेछ। यद्यपि, साना हाइब्रिड कारहरूले पनि करको मोर्चामा लाभ प्राप्त गर्नेछन्, जबकि विद्युतीय सवारी साधनहरूमा पाँच प्रतिशतको दरले जीएसटी लगाइनेछ। यस बाहेक, सवारी साधनका पार्टपुर्जामा जीएसटी हालको 28 प्रतिशतबाट घटाएर 18 प्रतिशत गरिएको छ।
मर्सिडीज-बेन्ज इन्डियाका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत सन्तोष अय्यरले एक विज्ञप्तिमा भने, सरकारले अटोमोबाइल उद्योगको जीएसटी दरहरूलाई तर्कसंगत बनाउन लामो समयदेखिको माग सुनेको छ। यो जीएसटी संशोधन सही दिशामा एक कदम हो, प्रगतिशील छ र उपभोगलाई प्रवर्द्धन गरेर बहुप्रतिक्षित प्रोत्साहन प्रदान गर्नेछ र अटोमोबाइल उद्योगलाई प्रोत्साहन दिनेछ। उनले भने, समग्रमा यसले अर्थतन्त्रलाई गति दिनेछ। हाल, सवारी साधनहरूमा 28 प्रतिशत कर लगाइन्छ। यो जीएसटीको उच्चतम स्ल्याब हो।
सवारी साधनको प्रकारमा निर्भर गर्दै जीएसटीको यो दरमा एक देखि 22 प्रतिशत क्षतिपूर्ति उपकर लगाइन्छ। इन्जिन, क्षमता र लम्बाइको आधारमा कारहरूमा कुल कर दर साना पेट्रोल कारहरूको लागि 29 प्रतिशत र एसयूवीहरूको लागि 50 प्रतिशतसम्म छ।
हिन्दुस्थान समाचार / भवानी थामी