सांसद राजु विष्टले बेपत्ता इसान गुरुङको परिवारसित भेट गरे
सांसद राजु विष्टले बेपत्ता इसान गुरुङको परिवारसित भेट गरे


सिलगढी, 04 सेप्टेम्बर (हि.स.)। गत 23 अगस्त, 2025 का दिन अपहरणमा परेर बेपत्ता भएका 14 वर्षीय बालक ईशान गुरुङको परिवारसँग भेट्न आज दार्जिलिङका सांसद राजु विष्ट सेभोक 10 माईल पुगेका थिए। उनले आफ्नो ऐक्यबद्धता जनाउन अनि यस अत्यन्तै कष्टपूर्ण समयमा दह्रो सहयोग व्यक्त गर्नका लागि आफू भेट्न गएको बताएका छन्।

सांसद विष्टले ईशानलाई सुरक्षित घर ल्याउन हरसम्भव प्रयास सुनिश्चित गर्न सङ्कल्पित रहेको बताएका छन्। ईशानलाई गत 23 अगस्त, 2025 का दिन दार्जिलिङ जिल्लाको सिलगढ़ी नजिकै सेभोक 10 माइल फरेस्ट बस्ती नजिकबाट दिउँसै अपहरण गरिएको थियो।

यस घटनापछि आफूले तत्काल यस अपहरणको जाँच गर्न एउटा विशेष जाँच टोली (एसआईटी) गठन गर्ने अनुरोध गरेको अनि अपहरणको घटना भएको पाँच दिनपछि 28 अगस्त, 2025 का दिन पश्चिम बङ्गाल पुलिसले एउटा एसआईटी गठनको घोषणा गरेको उनले बताएका छन्। तर, उनीहरूको हरसम्भव प्रयासहरूको बावजूद अपहरणको आज 13 दिन बितिसक्दा पनि ईशानको कुनै अत्तोपत्तो छैन। यसबाट ईशानका आमाबाबा अनि सम्पूर्ण समुदाय गहिरो वेदनाले छटपटाइरहेको अनि यसप्रकारको ढिल्याइँले क्षेत्रका जनताको प्रशासनमाथि विश्वास गहिरो रूपले डगमगाएको सांसद विष्टले बताए।

आफूले यस सम्बन्धमा राज्यपाल र मुख्यमन्त्री ममता ब्यानर्जीसँग उनीहरूको हस्तक्षेपका लागि औपचारिक अनुरोध गरेको पनि बताए। सांसद राजु विष्टले भने, 'म यस मामिलालाई तत्काल सीबीआईलाई हस्तान्तरण गर्न अनुरोध गर्दैछु ताकि ईशानको पत्तो लगाएर उनको परिवारलाई सुम्पनका लागि विशिष्ट संसाधनहरूका साथ विशेषज्ञहरूको एउटा समर्पित टोली गठन गर्न सकियोस्। उनले पश्चिम बङ्गाल सरकारसँग पनि यस मामिलालाई प्राथमिकता दिन र यथाशीघ्र सीबीआईलाई हस्तान्तरित गरेर व्यवस्थामाथि जनताको आस्था पुनर्कायम गर्न आह्वान गरेका छन्।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande