असम लिङ्गजेमा 'सिक्किम नेशनल ल युनिभर्सिटी' को उद्घाटन
असम लिङ्गजेमा 'सिक्किम नेशनल ल युनिभर्सिटी' को उद्घाटन


विश्वविद्यालयको स्थापना सिक्किममा न्याय, ज्ञान र सशक्तिकरणलाई सुदृढ पार्ने ऐतिहासिक कदम: मुख्यमन्त्री

पाकिम, 04 सेप्टेम्बर (हि.स.)। मुख्यमन्त्री प्रेमसिंह तामाङ र सिक्किम उच्च न्यायालयका मुख्य न्यायाधीश न्यायमूर्ति विश्वनाथ सोमाद्दरले आज असम लिङ्गजेमा संयुक्त रूपमा 'सिक्किम नेशनल ल युनिभर्सिटी' को उद्घाटन गरे। यस अवसरमा सिक्किम उच्च न्यायालयकी न्यायाधीश न्यायमूर्ति मीनाक्षी मदन राई, शिक्षा विभाग मन्त्री राजु बस्नेत, श्रम विभाग मन्त्री भीमहाङ लिम्बू, विधायक पामिन लेप्चा, विश्वविद्यालयका उपकुलपति डा. अचिना कुण्डू पनि उपस्थित थिए।

सिक्किम र देशभरका इच्छुक विद्यार्थीहरूलाई कानुनी शिक्षाको क्षेत्रमा अवसर प्रदान गर्ने उद्देश्यले यो विश्वविद्यालय स्थापना गरिएको बताइएको छ। यस संस्थानले सिक्किमका ती मेधावी विद्यार्थीहरूलाई सहयोग गर्न विशेष जोड दिन्छ जो कानूनमा करियर बनाउन चाहन्छन् तर प्रायः आर्थिक कठिनाइका कारण राज्य बाहिर अध्ययन गर्न असमर्थ हुन्छन्।

सिक्किम राष्ट्रिय कानून विश्वविद्यालयले बीए एलएलबी (अनर्स) र एलएलएम कार्यक्रमहरू प्रदान गर्दछ र 1 सेप्टेम्बर, 2025 मा विद्यार्थीहरूको पहिलो ब्याचका साथ आफ्नो पहिलो शैक्षिक सत्र 2025-26 शुरु गरेको छ।

मुख्यमन्त्री तामाङले आफ्नो सम्बोधनमा विश्वविद्यालयको स्थापनालाई केवल शैक्षिक संस्थाको उद्घाटन मात्र नभई सिक्किममा न्याय, ज्ञान र सशक्तिकरणलाई सुदृढ पार्ने ऐतिहासिक कदम बताए। विश्वविद्यालयले विद्यार्थीहरूलाई घर नजिकै गुणस्तरीय कानुनी शिक्षा हासिल गर्न सक्षम बनाउॅंदै जनताको लामो समयदेखिको सपना पूरा गरेको बताउॅंदै यस संस्थानले राज्य अनि राष्ट्रमा अर्थपूर्ण योगदान पुर्‍याउने कानुनी पेशेवरहरूको नयाँ पुस्तालाई हुर्काउनेछ भनी उनले बताएका छन्।

मुख्यमन्त्रीले संस्थानले कानुनी उत्कृष्टता, अनुसन्धान र सामुदायिक सेवाको केन्द्रको रूपमा काम गर्नेछ, जसले विद्यार्थीहरूमा कानूनको ज्ञान मात्र नभई इमानदारी, करुणा र सार्वजनिक सेवाको मूल्य पनि स्थापित गर्ने विश्वास व्यक्त गरे। उनले यस विश्वविद्यालयले आवाजविहीनहरूको पक्षमा बोल्ने र संविधानलाई अक्षरशः समर्थन गर्ने साहस भएका वकिल र विद्वानहरूलाई जन्माउनुपर्छ भने। उनले यस भिजनलाई वास्तविकतामा परिणत गर्न मुख्य न्यायाधीश र न्यायपालिकाको मार्गदर्शनको लागि कृतज्ञता व्यक्त गरे।

कार्यक्रममा प्रोफेसर डा. अचिना कुण्डूले विश्वविद्यालयको प्रथम उपकुलपतिको रूपमा 01 अगस्त, 2024 देखि आफ्नो कार्यभार सम्हालेको जानकारी गराइयो। यसैगरी, सोनाम डेन्का वाङ्गदी विश्वविद्यालयको रेजिस्ट्रार नियुक्त भएका छन्। सिक्किम न्यायिक एकेडेमीमा औपचारिक रूपमा 01 सेप्टेम्बर, 2025 बाट शैक्षिक सञ्चालन शुरु भएको बताइएको छ।

कार्यक्रमलाई मुख्य न्यायाधीश न्यायमूर्ति विश्वनाथ सोमाद्दरले पनि सम्बोधन गरेका थिए।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande