खरसाङ 04 सेप्टेम्बर (हि.स)। तीनधारे वरिष्ठ नागरिक कल्याण संगठनद्वारा दार्जिलिङका सांसद राजु विष्टसित उनकै सिलगढ़ीस्थित वासस्थानमा भेट गरी संगठन साथै तीनधारेका विभिन्न समस्याहरूबारे अवगत गराएका छन्। वरिष्ठ नागरिक कल्याण संगठन तीनधारेको तर्फबाट सांसद राजु विष्ट समक्ष विभिन्न मागहरु राखिएका छन्, जसमा तीनधारेमा एउटा एटीएमको स्थापना गर्नुपर्ने माग पनि सामेल छन्।
सांसद विष्टले तत्काल सम्बन्धित विभागमा फोन गरेर समस्या समाधानको लागि सुझाउ दिएको बताइएको छ। यसैगरी, निर्माण अधुरो रहेको वरिष्ठ नागरिक कल्याण संगठन भवनको मरमत्ति कार्य गरिनु पर्ने साथै संगठनका विभिन्न समस्याहरूबारे चॉंडै तीनधारे भ्रमणमा आउँदा विचार गर्ने उनले आश्वासन दिएका छन्।
गत कोरोनाकालदेखि स्थगित गरिएको सिलगढ़ीदेखि तीनधारेसम्मको 'जंगल सफारी' डीएचआर ट्रेन सेवा पुनः चालु गरिनु पर्ने माग गर्दै संगठनले तीनधारेको तीन पोइन्ट पर्यटकीय स्थलहरू 'हनबील पार्क', वर्कशप छेऊ 'वी लभ तीनधारे' भ्यु पोइन्ट, तीनधारेको बीस माइलस्थित 'स्मृती वन' परिसर देवी मन्दिरबारे अवगत गराएएको छ। यस विषयमा सांसदले डीएचआर निर्देशकसँग फोनमार्फत सम्पर्क गरेर उक्त सेवा पुन: शुरु गर्ने आश्वासन दिएका छन्।
तीनधारे क्षेत्रका बेरोजगार युवाहरुका निम्ति उद्योग कारखाना स्थापना गरिनु पर्ने मागबारे सांसदले यस विषयमा कार्य भइरहेको जानकारी गराएका छन्। तीनधारे राष्ट्रिय राजमार्गदेखि सिलिम पहाड़ स्कूलसम्मको अचल 'ओल्ड मिलेटेरी रोड' लाई मरमत्ति गरेर व्यवस्थित गरी वैकल्पिक मार्ग जीपेबल रोड पुनः चालु गरिनु पर्ने मागबारे कुरा राख्दा सांसदले चाँडै उक्त क्षेत्रको स्थलगत भ्रमण गरी कार्यको पहल गर्ने वचन दिएका छन्।
त्यसरी नै अन्य विषयहरुबारे पनि बातचीत भएपछि सांसदले तीनधारेको राजबारीस्थित माता जल्पादेवी मन्दिरलाई आर्थिक अनुदान प्रदान गरेको बताइएको छ। सांसद राजु विष्टलाई भेट्न समाजसेवी बिमल दर्जीको अगुवाईमा गएको टोलीमा संगठनका सभापति दावा दोर्जे लामा, सचिव सुरेशचन्द्र दर्नाल, संरक्षक बीबी गुरुङ लगायत जीतबहादुर गुरुङ, किशोरचन्द्र लोहार, जय प्रकाश गुप्ता, धर्मराज राणा, तिलक छेत्री र अरुण प्रधान सामेल थिए।
हिन्दुस्थान समाचार / हनोक