कोलकाता, 04 सेप्टेम्बर (हि.स.)। केन्द्रिय वित्तमन्त्री निर्मला सीतारमणद्वारा घोषित नयाँ जीएसटी ढाँचालाई लिएर पश्चिम बंगाल विधानसभामा विपक्षका नेता शुभेन्दु अधिकारीले भने, यस निर्णयबाट आगामी चाड़-पर्वको सिजनमा देशभरिका मानिसहरूले ठूलो राहत पाउनेछन्।
भाजपा विधायकले बिहीवार सोशल मीडिया एक्समा लेखे, दुर्गा पूजा अगावै कतिपय दैनन्दिन प्रयोगका सामानहरूको मूल्य एक झट्कामै घट्यो। जीवन बीमा एवं स्वास्थ्य बीमामाथि जीएसटीको पूर्ण छुट दिइएको छ। जनहितैषी मोदी सरकारले तिहारको सिजनलाई अझ आनन्दमय बनाइदिएको छ। उनले बताए, आगामी 22 सेप्टेम्बरदेखि जीएसटीको दर घटेर केवल दुई स्ल्याब रहनेछ-5 प्रतिशत र 18 प्रतिशत। अहिलेसम्म लागू 12 प्रतिशत र 28 प्रतिशतको दरलाई पूर्ण रूपले समाप्त गरिएको छ।
अधिकारीले भने, “पहिला कृषि उत्पादहरूमा 12 प्रतिशत जीएसटी लगाइएको थियो भने अब यसलाई घटाएर 5 प्रतिशत बनाइएको छ। यस अतिरिक्त जीवन रक्षक औषधिहरू लगायत दैनन्दिन आवश्यकताका वस्तुहरूको मूल्य पनि घट्नेछ।”
उनले यस फसेलाई प्रधानमन्त्री नरेन्द्र मोदीको त्यो वाचासित जोड़े जसमा उनले स्वतन्त्र दिवसको अवसरमा लालकिल्लाबाट देशवासीहरूलाई आश्वासन दिएका थिए, पर्वहरूपूर्व उनीहरूलाई उपहारस्वरूप ठूलो राहत दिइनेछ। अधिकारीले भने, “हाम्रा यशस्वी प्रधानमन्त्रीले जे भनेका थिए, त्यसलाई पूरा पनि गरेका छन्। आगामी चाड़-पर्वहरू अझ मिठो र रमाइलो हुनेछ।”
अर्कोतिर गए बुधवार राति वित्तमन्त्रीद्वारा जीएसटी दरहरूको घोषणा गरिएको तुरून्तैपछि पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यानर्जीले यसलाई आफ्नो ‘नैतिक विजय’ बताइन्। उनले भने, “यो आम जनताको जीत हो। एउटा यस्तो सरकारबाट खोसिएको जीत जसले केवल दबावमा आएर सुन्छ। ममता ब्यानर्जीले शुरूबाटै बीमा प्रीमियममाथिको ट्याक्सलाई अमानवीय र जनविरोधी बताउँदै आइरहेकी थिइन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा