दार्जिलिङ, 07 सेप्टेम्बर (हि.स.)। दार्जिलिङको लालकोठीमा सम्पन्न एक बैठकमा आज जीटीएले रम्फू र तारखोलाका 88 बाढी पीडित परिवारहरुलाई घर निर्माणको लागि राशिको पहिलो किस्ता भुक्तान गऱ्यो।
राशि भुक्तानको समय जीटीए मुख्य कार्यपाल अनित थापाले भने, 'मैले वचन दिए अनुसार ढिलो नै भए तापनि वचन पूरा गरेको छु। सरकारी काम हो, कागज पत्र ठीक हुनुपर्छ, त्यसको अनुमोदन हुनुपर्छ। त्यसैले राहत राशि भुक्तानी गर्न धेरै ढिलो भयो।'
टिस्टाका पीडितहरूले एनएचपीसीबाट पुनः सर्वेक्षणको माग गरेको कारण आज रम्फू र तारखोलाका पीडितहरुलाई मात्र राहत राशि प्रदान गरिएको बताइएको छ। घर निर्माणको राशि 3 लाख रूपियॉं रहनेछ भने यसलाई तीन किस्तीमा दिइनेछ। आज वितरण गरिएको राशि पहिलो किस्तिको राशि हो।
आपदा विभागका कार्यकारी निर्देशक एम मोदकले भने, 'राशि ब्याङ्कमार्फत भुक्तान गरिएको छ। राशि प्राप्त गरेपछि परिवारले आफै घर निर्माण शुरु गर्नु पर्नेछ। पहिलो किस्तिको राशि एक लाख रहेको र कार्य समाप्त भएपछि विभागले कामको निरीक्षण गर्नेछ अनि त्यही अनुरुप दोस्रो अनि तेस्रो किस्ताको भुक्तानी गर्नेछ।'
उल्लेख्य, 4 अक्टोबर, 2023 का दिन टिस्टामा आएको बाढीले क्षतिग्रस्त बनाएको घरका प्रभावित परिवारहरूलाई राशि प्रदान गरिएको हो।
हिन्दुस्थान समाचार / हनोक